मकवानपुरका कवि किसन पौडेल प्रथम
२६ पुस, हेटौँडा । साहित्य सगंम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्यावरण खुला कविता प्रतियोगितामा मकवानपुरका कवि किसन पौडेल प्रथम हुनुभएको छ ।
पौडेलको ‘दोहन’ शीर्षकको कविताले प्रथम स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, कैलालीका कवि मोहित जोशीको ‘समयको अन्त्यको किनारामा उभिएर’ शीर्षकको कविता द्वितीय भएको छ । उहाँले २० हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो । सुनसरीका कवि किरण सिवाको मौन प्रकृतीले तृतीय स्थान हासिल गरेको छ । सिवाले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनुभयो । त्यसैगरी, काठमाडौँकी कवि यशोधा अधिकारीको ‘धरतीको विघटन’ र तनहुँका कवि नरोत्तम श्रेष्ठको ‘बिउको रक्तिम घोषणापत्र’ शीर्षकको कविताले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । सान्त्वना पुरस्कार जनही ५ हजार रुपैयाँ रहेको छ । देशभरबाट प्राप्त १ सय ६४ वटा कविता मध्ये उत्कृष्ट १० कविका कविता अन्तिम चरणमा वाचन गरिएको साहित्य संगम मकवानपुरकी सचिव रजनी पौडेलले बताउनुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा निमेष निखिल र विजय हितान रहनुभएको थियो ।
प्रतियोगितामा सहभागी कविहरूले पर्यावरण संरक्षण, जलवायु परिवर्तन, प्रकृति र मानवीय जिम्मेवारीजस्ता विषयमा केन्द्रित कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । वार्षिकोत्सवको अवसरमा नेपाली साहित्यमा पर्यावरण चेतनाको भूमिका विषयमा बहस कार्यक्रम पनि आयोजना गरिएको थियो ।
बहस कार्यक्रममा पर्यावरण साहित्य अभियन्ता तथा वातावरणविद् विजय हितान, अंग्रेजी तथा नेपाली साहित्य लेखन प्रशिक्षक तथा अंग्रेजी भाषाविद् ईश्वर कडेल, तथा प्रखर समालोचक डा. घनश्याम घिमिरेले आ–आफ्ना धारणा राखेका थिए ।
बहसको सहजीकरण सुवास खनालले गर्नुभएको हो । वक्ताहरूले साहित्यमार्फत पर्यावरण संरक्षणको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उल्लेख गर्दै समकालीन साहित्यले प्रकृति र वातावरणका सवाललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । साहित्य सगंम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।













