हेटौंडा बचतको कुल बचत ५९ करोड १६ लाख

स्वर्णिम खबर
२६ पुष २०८२, शनिबार २१:०३

२६ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका ज्येष्ठ सदस्य राजी प्रसाद ढकालको प्रमुख उपस्थितीमा भएको कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले गर्नुभएको हो । साधारण सभामा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पार्वती ढकालले योजना तथा वार्षिक बजेट प्रस्तुत गरे । साथै, गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, महिला उपसमितिको प्रतिवेदन पनि सभामा पेश गरिएको थियो ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा हाल महिला शेयर सदस्य ४ हजार १ सय ९७ र पुरुष २ हजार ८ सय ८१ गरी कुल ७ हजार ३८ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ भने कुल बचत ५९ करोड १६ लाख ६५ हजार रुपैयाँ पुगेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
संस्थाले मासिक, दैनिक, आवधिक, पेन्सन, बाल बचत र पर्व बचत लगायत विभिन्न १२ शीर्षकबाट बचत संकलन गर्दै आएको छ । संस्थाको ऋण लगानी ५५ करोड ६४ लाख, जगेडा कोष ४ करोड ११ लाख र अन्य कोष १ करोड २४ लाख रहेको कोषाध्यक्ष ढकालले जानकारी दिनुभयो । यस वर्ष पनि संस्थाले विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
पत्रकारिता क्षेत्रबाट खबर सहकारीका श्रीराम अर्जुन र सामाजिक व्यक्तित्व तर्फ यशोधा कुमारी उप्रेती सम्मानित हुनुभयो । उत्कृष्ट कार्यसम्पादन गरेवापत बचत तथा लेखा सहायक सरस्वती पाख्रिन र कार्यालय सहयोगी राममाया घलान पुरस्कृत भए । यस्तै, मासिक नियमित बचतकर्ताहरू सारदा दाहाल, सिता आर्याल र बिन्दा भ्लोन तथा असल ऋणीका रूपमा बिमला लामा, मदन घलान र सितालाई सम्मान गरिएको थियो ।
बाल बचत, दैनिक बचत, पेन्सन बचत र आवधिक बचततर्फका उत्कृष्ट बचतकर्ताहरू र एकै दिन सदस्यता ग्रहण गर्ने ६ दम्पतीलाई पनि सम्मान गरिएको थियो । संस्थाको हेटौडा २, हेटौंडा ८ र हेटौंडा १६मा सदस्य सेवा केन्द्र रहेको छ । साधारणसभाबाट नया लेखा सुपरिवेक्षण समिति र संचालक समिति चयन हुनेछ । आइतबारको लागि निर्वाचनको कार्यक्रम तय भएको सचिव गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*