राति १२ बजेपछि डान्सबार र दोहोरी साँझ पूर्ण रूपमा बन्द गर्न प्रजिअको निर्देशन

स्वर्णिम खबर
२२ पुष २०८२, मंगलवार १९:१४

२२ पुस, हेटौँडा । पछिल्लो समय मकवानपुरमा सञ्चालनमा रहेका डान्स बार तथा दोहोरी साँझमा अनैतिक गतिविधि र सामाजिक विकृति फैलिएको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्बन्धित पक्षसँग छलफल गरेको छ ।
रोलजिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि, डान्स बार तथा दोहोरी साँझ सञ्चालकको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले प्रचलित कानुन, सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुरक्षाविपरीतका गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले गैरकानुनी ढंगले सञ्चालन भएका डान्स बार र दोहोरी साँझ बन्द गराइने चेतावनी दिनुहुँदै कुनै पनि बेला अनुगमन हुने जानकारी दिनुभयो । प्रजिअ अधिकारीले शान्ति सुरक्षामा चुनौती बढ्ने खालका गतिविधि नगर्न निर्देशन दिनुभयो ।
अनुमति दिने निकायसँग पनि थप छलफल गरी नीति–नियम कडाइका साथ लागू गरिने उहाँको भनाइ छ । प्रजिअ अधिकारीले अनुमति दिनुअघि वडा र स्थानीय तहले क्षेत्र उपयुक्त छ कि छैन भन्ने विषयमा गहन अध्ययन गर्नुपर्ने बताउनुभयो । छलफलका क्रममा डान्स बार र दोहोरी साँझ राति १२ बजेपछि पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्देशन दिइएको छ । डान्स तथा दोहोरी साँझमा पालिना गर्नुपर्ने नियमहरु स्पष्ट रुपमा देखिने गरि एक हप्ताभित्रराख्न समेत निर्देशन दिइएको छ ।
छलफलमा क्रममा डान्स बार तथा दोहोरी साँझ सञ्चालकहरूले आफूहरू कानुनी दायरामै रहेर इमानदारितापूर्वक व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराले बस्तीको बीचमा रहेका व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गनुृभयो । हाल हेटौंडाका कोर क्षेत्र ४ र १० नम्बर वडामा डान्स बार तथा दोहोरी साँझ सञ्चालनमा रहेका छन् । मंगलबार नै १० नम्बर वडा स्थित टोलविकास संस्थाका प्रतिनिधिले डान्स तथा दोहोरी साँझमाहुने विकृति रोक्न माग गर्दै जिल्ला प्रसाशन कार्यालयमा डेलिगेसनमा समेत गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*