निर्माण व्यवसायी संघ मकवानपुरको भवन शिलान्यास
६ असोज, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।
हेटौंडा ४ स्थित पुरानै भवन रहेको स्थानमा ४ करोड ३९ लाखको अनुमानित लागतमा बन्ने भवनको सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्नुहुँदै महासंघका अध्यक्ष सिंहले विगतको
भन्दा अहिले निर्माण व्यवसायीहरुले काम गर्ने शैलीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । भदौ २३ र २४ गतेको सडक आन्दोलनबाट बनेको अन्तरिम सरकारलाई व्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । देशलाई भ्रष्टचार मुक्त बनाउने म्याण्डेट अनुसार नै अन्तरिम सरकारले चल्नुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष सिंहले रुग्ण आयोजनालाई अन्त्य गर्ने सरकारको निर्णयलाई आफुहरुले स्वागत गरेपनि आयोजना रुग्ण हुनुपर्ने कारण खोजी गर्न समेत सरकारलाई आग्रह गरिएको बताउनुभयो । उहाँले अब निर्माण व्यवसायीहरुले आफुलाई विशिष्टकरण गर्ने बेला आएको बताउनुभयो । नीतिगत रुपमा निर्माण उद्योगलाई स्थापित गर्न महासंघको तीन वटै तहले गर्नुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा मकवानपुरका अध्यक्ष कँडेलले तत्कालको लागि भवनको २ तलाको निर्माण कार्य सम्पन्न गरी प्रशासनिक कार्यहरु सुचारु गर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष इ.आङदोर्जी लामा, बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष राजकुमार बुढाथोकी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।













