स्थानीय तह समृद्ध हुँदा मात्र मुलुक समृद्ध हुन्छः प्रदेश प्रमुख देवकोटा
१६ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्थानीय तह समृद्ध हुँदा मात्र मुलुक समृद्ध हुने बताउनुभएको छ ।
स्थानीय उत्पादनको प्रयोगलाई बृद्धि गरी स्थानीय तहलाई बलियो र समृद्ध बनाउन उहाँले आग्रह गर्नुभयो । हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा शुक्रबार देखि सुरु भएको तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेलाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले स्थानीय तहमा उत्पादित उत्पादनको प्रयोग गर्न अरुलाई समेत उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेका युवा पिढी आफ्नो स्थानीय तथा स्वदेशी उत्पादनको प्रयोगमा पूर्ण रुपमा सचेत रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले घरेलु उत्पादनलाई आफ्नो पहिचानको फेसनको रुपमा लिने प्रवृत्तिको विकास सकारात्मक रहेको उल्लेख गर्नुभयो । स्थानीय निकायहरुले कानुनसम्मत तरिकाले स्थानीय उत्पादनको बिक्री वितरण र प्रयोगमा परिणाममुखी ठोस कदम चाल्नुपर्ने उहाँको धारणा छ । उहाँले कार्यालय वा व्यक्तिगत उपहार र सजावटमा पनि स्थानीय र स्वेदशी सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिँदै गुणात्मकता र सुलभ मुल्य कायम राख्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले सुचना प्रविधिको अधिकतम प्रयोग गरी फाइदा लिनुपर्ने बताउनुभयो । राज्यका सबै निकायहरुले प्रविधिमैत्री प्रणालीमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । ठाउँ विशेष र स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन पकेट क्षेत्र घोषणा गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश प्रमुख देवकोटाले पूर्वाधार सहितका औद्योगिक ग्रामहरु निर्माण गर्नुपर्ने बताउनुभयो । लक्ष्य उन्मुख मार्गमा अघि बढ्दा समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ । प्रदेश प्रमुख देवकोटाले स्वदेशी उत्पादनमा जोड दिएर बजारको खोजी र विस्तार गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।
उहाँले घरेलु, हस्तकला, कृषिजन्य उत्पादन तथा प्रयोग र बिक्रीवितरण उद्यमशीलताका महत्वपूर्ण आधार स्तम्भ भएको बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले आन्तरिक उत्पादनको खपत र निकासीमा अधिकतम जोड दिनुपर्ने उल्लेख गर्नुभयो । घरेलु तथा हस्तकला, कृषिजन्य उत्पादनले स्वरोजगारलाई बढावा दिएर रोजगारी सिर्जनामा महत्वपूर्ण भुमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी उत्पादनले बजार कब्जा गर्ने स्थिति रहेको बताउनुभयो । बजारमा विचौलियाहरु हाबी हुँदा स्वदेशी उत्पादन कुहिएर जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रथम मुख्यमन्त्री पौडेलले स्थानीय वस्तु र उत्पादनलाई बजारमा बिक्री वितरणको प्रबन्ध मिलाउने जिम्मा स्थानीय तहकै भएको बताउनुभयो । विदेशबाट आयातित बस्तुहरुलाई रोकेर स्वदेशी बस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

यसैगरी बागमती प्रदेशकी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सम्पूर्ण जनसमुदायहरु आर्थिक उत्पादनसंग जोडिए मात्र मुलुकको विकास हुने बताउनुभयो । प्रदेश सरकारले सीप विकास तालिम, प्रविधि हस्तान्तरण तालिम, उत्पादित सामानहरुलाई कोशेली घर मार्फत बिक्री वितरण गर्ने कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले उद्यमीहरुलाई व्यवसाय दर्ता गर्दा हुने कानुनी झन्झटलाई अन्त्य गर्न घरमै बसेर दर्ता गर्न सकिने सफट्वेयरको व्यवस्था गर्न लागेको समेत बताउनुभयो ।
उद्यमशीलता प्रवद्र्धनको लागि हेटौंडा उपमहानगरपालिकासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो । तीन वटै तहका सरकारहरुबीच समन्वय अभाव देखिएको बताउनुुहुँदै उहाँले आगामी दिनमा उद्यमशील संग जोडिएका विषयमा संघ र स्थानीय तहसंग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले स्थानीय तहहरुले आफनो अधिकार क्षेत्रभित्र रहेर आर्थिक रुपान्तरणमा महिला, यवाहरु, सीप भएकाहरु अगाडि बढाउन उपमहानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । पूर्वाधारको विकास देखि लिएर उपमहानगरपालिकालाई नयाँ शहरको रुपमा विकास गर्ने उहाले उल्लेख गर्नुभयो । नगर प्रमुख लामाले उत्पादनसंग जोडिएर साना–साना उद्योगहरु निर्माण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । ४ वर्षमा १४ वटा उद्योग सञ्चालन गर्ने उपमहानगरको योजना अनुरुप ढाका, गुन्द्रुक, ड्रागन खेतीमा लगानी भइरहेको उहाँले बताउनुभयो ।
शनिबार सम्म हुने मेलामा उपमहानगरपालिकाका १९ वटै वडामा स्थानीय स्तरमा उत्पादन भएका घरेलु वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिने वडा अध्यक्ष फुवा दोर्जे लामाले बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा रोजगार सृजनामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । प्रदर्शनीका लागि घरेलु उत्पादनका एक सय वटा स्टल रहेका छन् ।













