बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायधिवक्ता बस्नेतलाई बारको बधाई तथा शुभकामना

स्वर्णिम खबर
१३ पुष २०८२, आईतवार १८:४७

१३ पुस, हेटौँडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतलाई मकवानपुर जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनले संयुक्त रूपमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।
मकवानपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष उत्तम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल कानून व्यवसायी परिषद्का सदस्य केशव प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । गत पौष ६ गते बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएकी बस्नेतलाई एसोसिएसनले आइतबार औपचारिक रूपमा बधाई तथा शुभकामना प्रदान गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कानून व्यवसायी परिषद्का सदस्य काफ्लेले बागमती प्रदेशको भूमिका अझ प्रभावकारी बनाउने गरी प्रदेश सरकारलाई आवश्यक कानुनी सुझाव दिन नवनियुक्त महान्याधिवक्ता बस्नेतलाई आग्रह गर्नुभयो ।
पदको गरिमा कायम राख्दै अझ उत्कृष्टता हासिल गर्न मुख्य न्यायाधिवक्तालाई शुभकामना दिनुभयो । कार्यक्रममा मुख्य न्यायधिवक्ता बस्नेतले प्रदेश सरकारको कानुनी सल्लाहकारको रुपमा आफुले भुमिका निर्वाह गर्ने बताउनुभयो । प्रदेश संरचनामा थप मजबुत बनाउन समेत आफु लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्षहरु, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बागमती प्रदेशकी पहिलो महिला मुख्य न्यायाधिवक्ता समेत बन्नुभएकी बस्नेत मकवानपुर जिल्ला बार एसोसिएसनको निवर्तमान अध्यक्ष हुनुहुन्छ । कार्यक्रममा उच्च अदालत बार एसोसिएसनका अध्यक्ष मन प्रसाद भट्टराई, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरू, अधिवक्ता तथा कानून व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*