मोबाइल एप ‘डागाचि’ सञ्चालनमा

स्वर्णिम खबर
१२ पुष २०८२, शनिबार १६:५०

१२ पुस, हेटौँडा । कोरियामा बसोबास गर्ने नेपालीसहित विदेशी नागरिकलाई लक्षित गर्दै विकसित गरिएको एआई–आधारित बहुभाषिक मोबाइल एप डागाचि सञ्चालनमा आएको छ ।
लञ्च भएको छोटो समयमै एप ५० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको डेभलपर टिमले जनाएको छ । शनिबार एपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डेभलपर टिमका सदस्य माधव सापकोटाले भाषागत अवरोधका कारण सूचना प्राप्तिमा देखिँदै आएको समस्या समाधान गर्नु एपको मुख्य उद्देश्य बताउनुभयो । डागाचि एप विशेषगरी कोरियामा रहेका विदेशी नागरिकका लागि विश्वासिलो सूचनाको स्रोतका रूपमा विकास गरिएको उहाको भनाई रहेको छ । हाल डागाचि एप मार्फत नेपालीसहित १६ भन्दा बढी भाषामा सेवा उपलब्ध छ ।
एपमा श्रम, भिसा, स्वास्थ्य सेवा, कानुनी प्रक्रिया, विश्वविद्यालय भर्ना, रोजगारी, आवास तथा दैनिक जीवनसँग सम्बन्धित व्यावहारिक जानकारी एआई प्रविधिको सहायताले सरल र बुझिने शैलीमा प्रस्तुत गरिएको बताइएको छ । आपतकालीन अवस्थामा आवश्यक सम्पर्क नम्बर र निर्देशनसमेत एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । डेभलपर सापकोटाका अनुसार कोरियामा अध्ययन, रोजगारी वा अन्य प्रयोजनका लागि जाने विद्यार्थी तथा नवआगन्तुकहरूका लागि यो एप विशेष उपयोगी हुनेछ । साथै, एपले नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
डागाचि एपलाई केवल सूचना दिने माध्यममा सीमित नराखी विदेशी नागरिकका लागि दीर्घकालीन डिजिटल सहायकका रूपमा विकास गर्ने लक्ष्य रहेको टिमले जनाएको छ । त्यसैगरि नेपालमा रहेका विदेशी नागरिकले पनि नेपालको समाज, सेवा, स्वास्थ्य, कानुन तथा आर्थिक गतिविधिबारे आफ्नै मातृभाषामा जानकारी लिन सक्ने गरी एप विस्तार गरिएको बताइएको छ । यसका साथै, डागाचि एपमार्फत उद्यमशील नेपालीले आफ्ना सेवा, उत्पादन तथा व्यावसायिक अवसरलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्न सक्ने अवसर पाउने दाबी गरिएको छ ।
एप विद्यार्थी, सञ्चारकर्मी, पर्यटन व्यवसायी, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति तथा सर्वसाधारण सबैका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास हुँदै गएको डेभलपर टिमको भनाइ छ । आगामी दिनमा थप नयाँ फिचर समावेश गरिने, एमओयू भएका संस्थालाई भेरिफिकेसन ब्याज र सब्सक्रिप्सन सेवा कार्यान्वयनमा ल्याइएको बताइएको छ । यस्तै, सञ्चारकर्मीका लागि कोरिया लगायत विभिन्न मुलुकका प्रमुख समाचार र सन्दर्भ सामग्री नेपाली भाषामा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी पनि दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*