बकैयाको अँधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

स्वर्णिम खबर
१ पुष २०८२, मंगलवार १८:०१

१ पुस, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका २२ जना मध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरूमध्ये हेटौंडा अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अँधेरी बस्ने ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षका सन्तलाल माझी रहेका छन् । हेटौंडा अस्पतालमा सामान्य चेक जाँच पश्चात चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको हेटौंडा अस्पताल तथा चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*