हेटौैंडामा सडक विस्तारः मजदुर देखि पैदल यात्रु, सवारी चालक सबै जोखिममा

स्वर्णिम खबर
३० मंसिर २०८२, सोमबार १७:५८

२९ मंसिर, हेटौँडा । निर्माण क्षेत्रमा कार्यरत मजदुरले आवश्यक सुरक्षा उपाय अवलम्बन नगर्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा भत्काइएका भग्नावशेष हटाउने क्रममा पाँच जना मजदुर घाइते भएका छन् । हेटौँडा–१ पिपलबोट, उद्योग वाणिज्य संघ आसपासको क्षेत्रमा पछिल्लो पाँच दिनमा भएका छुट्टाछुट्टै तीन घटनामा पाँच जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत आइतबार हेटौँडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको घर भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका थिए । यसअघि मङ्सिर २४ र २६ गते पनि घर भत्काउने क्रममा दुई जना कामदार घाइते भएका थिए ।
उनीहरुको उपचार जारी छ । निर्माण क्षेत्रका अधिकांश मजदुर हेल्मेट, जुत्ता, पञ्जा र सेफ्टी बेल्ट जस्ता आधारभूत सुरक्षा सामग्री बिना नै जोखिमपूर्ण काममा खटिने गरेका छन् । सुरक्षा सम्बन्धी मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा मजदुरहरू असुरक्षित अवस्थामा काम गर्न बाध्य भएका हुन् । जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सुरक्षा सामग्री किन्ने क्षमता नहुँदा प्रयोग गर्न नसकिएको मजदुरहरूले बताएका छन् ।


मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडक विस्तारका क्रममा भत्काइएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको दाबी गर्नुभयो । कुनैपनि अप्रिय घटना नहोस् भनेर स्थानीय सरकार, सडक डिभिजन लगायत सरोकारवाला सँग सहजीकरण र समन्वय भैरहको उहाँले बताउनुभयो । सम्बन्धित घरधनी, व्यवसायी र मजदुरलाई सुरक्षा उपाय अपनाउन प्रशासनले आग्रह समेत गरेको छ । सडक पेटीमै जीर्ण अवस्थामा रहेका घरहरूमा अझै पनि व्यापार सञ्चालन भइरहँदा व्यवसायी, मजदुर र सर्वसाधारणको सुरक्षा चुनौती समेत बढेको छ ।
यता हेटौँडा उपमहानगरपालिकाले व्यवसायीको स्टक सामान व्यवस्थापनका लागि वैकल्पिक स्थान उपलब्ध गराएपनि व्इवसायी जान मानेका छैनन् । हेटौडा उपमहानगरले रेडक्रम भवन नजिक रहेको खाली स्थान सेलका सामान बिक्रीका लागि उपलब्ध गराएको छ । जोखिमपूर्ण व्यापार नगर्न माइकिङमार्फत सचेत समेत गराइरहेको उपमहानगपालिकाले जनाएको छ ।
सडक विस्तारले अस्तव्यस्त हेटौँडाको बजार क्षेत्र
‘सुन्दर नगरी’को उपमा पाएको हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ ।
सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना र तिनका भग्नावशेषको व्यवस्थापन हुन नसक्दा दैनिक जनजीवन प्रभावित भएको छ । भत्काइएका संरचनाका ढुंगा, इँटा र रडका टुक्राहरू सडक तथा सडक पेटीमा छरिएर रहँदा पैदल यात्री तथा सवारी चालक दुवै जोखिममा परेका छन् । संरचना हटाउने क्रममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुद्धचोकदेखि लोकपियसम्मको मुख्य सडक खण्ड बन्द गरिएको छ ।
यस्तै संगमचोकदेखि पिपलबोट हुँदै मकवानपुर उद्योग वाणिज्य संघ आउने सडक पनि बन्द गरिएको छ । सडक बन्द भएपछि हेटौँडाको कान्तिलोकपथ, बुद्धचोक, सीमा चोक र मेनरोड क्षेत्रमा सवारी जाम बढ्दै गएको छ । जामका कारण पैदल यात्रु, सार्वजनिक सवारीका यात्रु तथा निजी सवारी चालकले दैनिक सास्ती खेप्नुपरेको छ ।


सडक डिभिजन कार्यालयले गत मङ्सिर २० गते हेटौँडाको महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घर तथा संरचनाहरू भत्काएको थियो । करिब ७ किलोमिटर क्षेत्रभित्र ५०० भन्दा बढी घर तथा संरचना जेसीबी प्रयोग गरेर भत्काइएपछि सडक तथा प्रशासनले सर्वोच्च अदालतबाट स्टे अर्डर जारी भएपछि मङ्सिर २१ गतेदेखि काम रोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*