हेटौँडामा मानव अधिकार र निर्वाचनबारे अन्तरपुस्ता संवाद
२४ मंसिर, हेटौँडा । मानव अधिकार र आगामी निर्वाचनबारे अन्तरपुस्ता संवाद कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ ।
मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुर र प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालसँगको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश, गैसस महासंघ बागमती प्रदेश, इन्सेक लगायतको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंको प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, जेनजी पुस्ता लगायत विभिन्न उमेर समूहका सहभागीहरूले निष्पक्ष निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिमा समान पहुँच लगायतका विषयहरू उठाएका थिए । कार्यक्रममा विशेषगरी जेनजी समूहले आसन्न निर्वाचनलाई महत्वका साथ हेरिएको बताएका थिए ।

युवा पुस्ताको भावनालाई सम्बोधन गर्ने खालको सक्षम नेतृत्व आउने कुरामा उनीहरूको जोड थियो । अपांग महासंघले अपांगता भएका व्यक्तिका लागि सहज रूपमा निर्वाचन स्थलसम्म पुग्ने व्यवस्था हुनुपर्ने र उनीहरूलाई पनि राजनीतिक दलहरूले समेट्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सहभागीहरूले निर्वाचनको विश्वसनीयता, निष्पक्षता र नागरिक सहभागिता सुनिश्चित गर्न राज्यका निकायहरूको भूमिकालाई जिम्मेवारपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशकी मानव अधिकार अधिकृत रविना घिमिरेले बागमती प्रदेशमा मानव अधिकारको अवस्थाबारे प्रस्तुति दिनुभएको थियो भने गैसस बागमती प्रदेशका कार्यबहाक अध्यक्ष कमल कुमार विश्वकर्माले प्रस्तुति राख्नुभएको थियो ।
यसैबीच गैसस बागमती प्रदेश समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् प्रधानमन्त्री शुशिला कार्कीलाई समसामयिक विषयमा अनुरोधपत्र पठाएको छ । परिवर्तिक राजनीतिक अवस्थामा विभिन्न तत्वले सामाजिक संघ संस्थाले गरेको योगदानलाई अवमूल्यन गर्ने गरि नित्साहित गर्ने दुष्प्रयास गरिरहेको भन्दै भयरहित वातावरणमा आफ्ना गतिविधि निरन्तर गर्ने वातावरण बनाउन माग गरिएको छ । साथै नवयुवा समुहले गरेको माग अनुरुप सबै पक्षसँग समन्वय र सहकार्यमा तोकिएको समयमा निर्वाचन हुने वातावरण बनाउन समेत आग्रह गरिएको छ ।














