सिटिइभिटीको प्रजिअ अधिकारीद्वारा अवलोकन
२४ मंसिर, हेटौँडा । हेटौँडा–६, गौरीटारस्थित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अवलोकन गर्नुभएको छ ।
निर्माण कार्य अलपत्र अवस्थामा रहेको भौतिक पूर्वाधारका साथै शिक्षालयमा सञ्चालित कार्यक्रमहरूबारे उहाँले चासो राख्नुभएको हो । कानूनी व्यवस्थाअनुसार शिक्षालय सञ्चालक समितिका अध्यक्ष प्रजिअ रहने व्यवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले शिक्षालयको निर्माणाधीन भौतिक संरचनाको अवलोकन, निरीक्षण गरी निर्माणमा देखिएका समस्याबारे जानकारी लिनुभयो ।
निर्माण रोकिएका संरचनाको काम सुचारु गराउन समन्वयकारी भूमिका खेल्ने उहाँले बताउनुभयो । भारत सरकारको सहयोगमा निर्माण थालिएको भौतिक पूर्वाधार दुई वर्षदेखि अलपत्र अवस्थामा छ । नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय सम्झौताको १० वर्षपछि महाविद्यालयको पूर्वाधार निर्माण कार्य २०७६ सालमा सुरु गरिएको थियो । ३८ करोड भारतीय रुपैयाँ लागतमा टेलि कम्युनिकेसन इन्डिया लिमिटेडले दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । एकपटक म्याद थप भए पनि महाविद्यालयको निर्माणको भौतिक प्रगति ३६ प्रतिशत मात्रै छ । यस विषयमा भारतीय दूतावासमा टेलिफोन सम्पर्क गर्दा भारतीय पक्ष १५ दिनभित्र छलफलका लागि आउने जानकारी प्राप्त भएको प्रजिअ अधिकारीले बताउनुभयो ।
भौतिक संरचना हस्तान्तरण नहुँदै महाविद्यालयले शैक्षिक कार्यक्रम भने जारी रहेको छ । बारा, पर्सा, रौतहटसहित विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्ययनका लागि आउने गरेका छन् । तर, आवासीय सुविधा नहुँदा विद्यार्थी फर्किन बाध्य हुने गरेको महाविद्यालय प्रमुख भुमहेश्वर रंजीतकारले बताउनुभयो । महाविद्यालयले डिप्लोमा तहका मेकानिकल इन्जिनियरिङ , इलेक्ट्रिकल इन्जिनियरिङ र अटोमोबाइल विषय सञ्चालन गर्न स्वीकृति पाए पनि संरचना अभावका कारण हाल मेकानिकल इन्जिनियरिङ विषय मात्रै अध्यापन गराइरहेको छ । यस विषयमा तीनवटा ब्याच पासआउट भइसकेका छन् ।
२०७६ सालमा तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरेको महाविद्यालयले २६ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने लक्ष्य राखिएको थियो । अधिकांश भवनका आधा संरचना बनेका छन् । अवलोकनमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, ६ नम्बर वडाका वडा अध्यक्ष विष्णु बहादुर दाहाल लगायतको उपस्थिती थियो ।













