सडक विस्तारबाट प्रभावितलाई आवासको लागि हेटौंडा उपमहानगरले सहजीकरण गर्ने
२१ मंंसिर, हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रको २५–२५ गज सडक विस्तारका क्रममा विस्थापित भएका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।
उपमहानगरको आइतबार बसेको ७६ औं कार्यपालिका बैठकले विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेटेर विभिन्न ९ वटा बुँदामा निर्णय गरेको छ ।
मुख्य बजार क्षेत्रका घरटहरा र संरचनाहरु भग्नावशेष बनेपछि उपमहानगरपालिकाले कार्यपालिका बैठक मार्फत विशेष निर्णयहरु गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
सडक विस्तारबाट प्रभावित भई जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरुको वडा कार्यालय मार्फत विवरण संकलन गरी मालपोत कार्यालयबाट विवरण जाँच गराई घरवारविहीनलाई आयोजना मार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण र समन्वय गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने प्रवक्ता न्यौपानेले बताउनुभयो ।
सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिएर व्यवसाय सुरु नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न नगर सभा मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ ।

प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने गरी नमूना र सौन्दर्यता कायम गर्न उपयुक्त घर निर्माण मोडल तयार गरी कार्यान्वयन समेत गरिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी, प्रभावितहरुको भवन निर्माणमा नक्सापास गर्न लाग्ने दस्तुरको २ हजार वर्गफिट सम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभा समक्ष पेश गर्ने र घर निर्माणका लागि सामग्रीहरु सुलभ रुपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि उपमहानगरले गरेको छ ।
उपमहानगरले सडक विस्तार कार्यमा सहयोग पु¥याउने घरधनी, व्यवसायी तथा आम नगरवासीलाई धन्यवाद ज्ञापन गर्दै मकवानपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूसँग समन्वय गरी बजार व्यवस्थापन र व्यवसायको निरन्तरताका लागि पहल गर्ने जनाएको छ।













