हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः शनिवार बिहानै डोजर चल्यो

स्वर्णिम खबर
२१ मंसिर २०८२, शनिबार १२:१५

२० मंसिर, हेटौँडा । लामो समयदेखि सूचनामै सीमित हुँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार अन्ततः शनिबार बिहानदेखि सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले चौथो पटक सूचना जारी गर्दै दिएको १५ दिने अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहानैदेखि मुख्य सडक क्षेत्रमा डोजर परिचालन गर्दै संरचना हटाउने काम अघि बढाएको हो । सडक सीमाभित्र पर्ने २५–२५ गज क्षेत्र खाली गराउन महेन्द्र राजमार्ग र त्रिभुवन राजपथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको बाक्लो सुरक्षा उपस्थितिबीच डोजर संचालन गरिएको हो । डिभिजनका अनुसार महेन्द्र राजमार्ग अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६ दशमलव ३ किमि र त्रिभुवन राजपथ अन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्म ३ दशमलव २ किमि गरी कुल ९ दशमलव ५ किमि सडक खण्डमा रहेका सार्वजनिक तथा निजी संरचना हटाइनेछन् ।


यस क्षेत्रभित्र कुल ५ सय ३१ वटा घर टहरा लगायतका संरचना पर्छन् । सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २ सय ३४ र बायाँतर्फ २ सय ९७ संरचना भत्काइने डिभिजनले जनाएको छ । डिभिजनले ३–४ तलासम्मका भवन भत्काउने क्षमताको लामो बुम भएका हेभी एक्साभेटर, जेसिभी, डोजरलगायत उपकरण प्रयोग गरिरहेको छ । विस्तार कार्यका लागि २० जना अपरेटर र ५ जना मेकानिक सहितको प्राविधिक टोली पनि परिचालित गरिएको छ ।


अर्कोतर्फ, अल्टिमेटम सकिएको भोलिपल्टै डोजर चलाइएपछि धेरै व्यवसायी बिहानैदेखि सामान सार्न व्यस्त देखिएका थिए । सडक डिभिजन हेटौंडाले यस अभियानलाई ‘सडक सीमा संरक्षण कार्यक्रम–२०८२’ अन्तर्गत कार्यान्वयन गरिरहेको छ । विस्तार कार्यका क्रममा मुख्य बजार क्षेत्रमा केही समय यातायात आवागमन प्रभावित हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । यसका लागि वाइपास सडक बनाइएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*