हेटौंडामा २५ गज सडक विस्तारको विरोधमा घरधनीहरूको प्रदर्शन
१७ मंसिर, हेटौँडा । मंसिर २० गतेदेखि सुरु हुने २५÷२५ गज सडक विस्तारको विरोधमा हेटौंडाका घरधनी तथा प्रभावित व्यवसायीहरूले आन्दोलन चर्काउदै लगेका छन् ।
हेटौंडा सडक पीडित संघर्ष समितिको आयोजनामा बुधबार बुद्धचोकमा भेला भएका प्रभावितहरुले ¥याली सहित सडक डिभिजन कार्यालय, जिल्ला प्रशासनकार्यालय र हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका थिए । ठूलो संख्यामा भेला भएका घरधनी तथा व्यवसायीहरूले क्षतिपूर्ति व्यवस्था गर”, “सरकार न्याय दे”, “अतिक्रमणको बिल्ला लगाउन पाइदैन”, “१५ दिने सूचना खारेज गर”, “बिना मुआब्जा सडक विस्तार गर्न पाइदैन”, “राज्यले नागरिकलाई सुकुम्बासी बनाउन पाउँदैन” “व्यवसायीको उचित व्यवस्थापन गर”लगायतका नारासहित विरोध जनाएका थिए ।

सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्गको केन्द्रबाट दायाँ–बायाँ २५÷२५ गज क्षेत्रभित्र सडक विस्तार गर्ने तयारी अघि बढाएपछि प्रभावित घरधनी आक्रोशित बनेका हुन् । संघर्ष समिति संयोजक भुवनलाल श्रेष्ठसहितका प्रतिनिधिले सडक डिभिजन कार्यालयका सूचना अधिकारी यादव सुवेदी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमलाई चारबुँदे ध्यानाकर्षणपत्र सेमत बुझाएका छन् ।

ध्यानाकर्षणपत्रमा हेटौंडा शहरको बिच भागबाट राष्टिय राजमार्ग बिस्तार नगरी राप्तीपुलदेखि कुष्माण्ड सरोवर हुँदै रातोमाटेसम्म र राप्तीपुलदेखि चौकीटोल तिरतिरेधारासम्मको वैकल्पिक मार्गराई राष्ट्रिय राजमार्ग बनाउन भनिएको छ ।
रातोमाटे–चौकिटोल तथा बुद्धचोक–राप्तीपुल खण्डमा हालको राजमार्गलाई सेडब्याक ढलपेटीसहित केन्द्र–रेखाबाट १६–१६ मिटरमा सीमित राख्नुपर्ने माग गरिएको छ । १६–१६ मिटरमा सडक विस्तार हुँदा पूर्ण विस्थापित हुनेहरूको उचित व्यवस्थापन तथा क्षतिपूर्ति सरकारले गर्नुपर्ने उल्लेख छ । प्रभावितहरूले दिएका विकल्पहरूमा सरकार नजाने हो भने पर्याप्त क्षतिपूर्ति दिएर मात्र सडक विस्तार अघि बढाउनुपर्नेमा पीडित पक्षको माग रहेको छ ।
सडक सीमा भित्रका संरचना हटाउन मंसिर ५ गते जारी गरिएको सूचनाविरुद्ध पीडित पक्षले प्रभावित क्षेत्रमा बुधबार पनि व्यवसाय पूर्ण रूपमा बन्द गराएका छन् । राप्ती रोड, बैंक रोड, पिपलबोटलगायत क्षेत्रका व्यवसाय ठप्प रहेका छन् । बिहीबारदेखि अनिश्चितकालीन रुपमा बजार क्षेत्रका व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत पीडितहरूले बिहीबार लालपुर्जा सहित प्रदर्शन गर्ने तयारी गरेका छन् ।













