हेटौँडाका व्यवसायीहरू कम मुल्यमा सामान बिक्री गर्दै
१३ मंसिर, हेटौँडा । मंसिर २० गतेदेखि हेटौंडामा सडक विस्तार सुरु हुने भएपछि प्रभावित क्षेत्रमा पर्ने व्यवसायीहरूले आफ्ना सामग्री कम मूल्यमा बिक्री गर्न थालेका छन् ।
विशेषगरी फर्निचर व्यवसायीहरूले दराज, पलङ, कुर्सी लगायतका फर्निचर सामानहरू सस्तो मूल्यमा बिक्री गर्दा ग्राहकको भीड बढेको छ । बिहीबारदेखि सुरु गरिएको सेलमा दुई दिनमै करिब ८० प्रतिशत सामग्री बिक्री भएको व्यवसायीहरूले बताएका छन् । मंसिर महिना विवाहको सिजन पनि भएकाले सामान किन्नेको संख्या बढेको व्यवसायीहरूको अनुमान छ । सडक विस्तारमा पर्ने संरचना भत्किने लगभग पक्का भएपछि सामान बेचेर पसल खाली गर्नुबाहेक विकल्प नदेखिएको व्यवसायीहरूले बताएका छन् । उपमहानगरपालिकाले वैकल्पिक स्थान तोकेको भए सरसामान सारेर व्यवसाय निरन्तर गर्न सकिने भएपनि सूचना समाप्त हुन लाग्दा पनि खासै पहलकदमी नदेखिएपछि सेलमा बिक्री गर्नुपरेको फर्निचर व्यवसायीहरूको भनाइ छ ।
बैक रोडका फर्निचर व्यवसायीका साथै चस्मा, जुत्ता तथा अन्य व्यवसायहरूले पनि सेल सुरु गरेका छन् । त्यस्तै, राप्तीरोड क्षेत्रका व्यापारीले पनि आफ्ना वस्तुहरू सस्तोमा बेच्न थालेका छन् । समयमै सामान बेच्न पाए घाटा कम हुने, अर्को उपयुक्त स्थानको अभाव लगायतका कारणले सस्तोमा सामान बेच्न बाध्य भएको व्यवसायीले बताएका छन् । लगानीभन्दा कम मूल्यमा सामान बेचेर सडक विस्तारमा राज्यलाई सहयोग गरेको तर राज्यले भने उचित व्यवस्थापन तर्फ ध्यान नदिएकोमा व्यवसायीहरू रुष्ट बनेका छन् । मंसिर ५ गते जारी सार्वजनिक सूचनामार्फत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले आग्रह गरेको छ । यसको समयसिमा मंसिर १९ गते सकिदैछ ।













