३० दलित महिला समूहलाई बीउँ पूँजी वितरण

स्वर्णिम खबर
१२ मंसिर २०८२, बिहीबार १८:३५

११ मंसिर, हेटौँडा । दलित महिला संघ (फेडो) मकवानपुरले उद्यम विकास प्रवद्र्धनका लागि ४ वटा स्थानीय तहका ३० वटा दलित महिला समूहलाई बीउँ पूँजी हस्तान्तरण गरेको छ ।
बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा रहेका महिला समूहहरूलाई २५ हजारदेखि ६० हजार रुपैयाँसम्मको बीउँ पूँजी वितरण गरिएको हो । फेडोका अनुसार हेटौंडा उपमहानगरपालिकाका २० वटा समूह, बकैया गाउँपालिकाका ८ समूह र भीमफेदी तथा मनहरी गाउँपालिकाका एक–एक समूहले बीउँ पूँजी प्राप्त गरेका छन् ।
उद्यम विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँ र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ प्रदान गरिएको हो । हेटौंडाका ५ समूहले ६० हजार रुपैयाँ र १५ समूहले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, बकैया गाउँपालिकामा ५ समूहलाई ६० हजार र ३ समूहलाई २५ हजार रुपैयाँ उपलब्ध गराइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । भीमफेदी र मनहरीका एक–एक समूहले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बीउँ पूँजी वितरणअघि प्रत्येक समूहका महिलालाई आवश्यक सबै तालिम प्रदान गरिएको सचिव विश्वकर्माले बताउनुभयो ।
दलित महिलालाई विभिन्न व्यवसाय, कृषि, पशुपालन, घरेलु उद्योग तथा हस्तकला क्षेत्रमा संलग्न गराएर आर्थिक सुदृढता बढाउने उद्देश्यले फेडोले विगत तीन वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सहभागी महिला समूहका सदस्यहरूले फेडोको उद्यम विकास कार्यक्रमले आर्थिक रूपमा सक्षम बनाउनको साथै आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन् ।
बीउँ पूँजी ६ महिनासम्म बिना ब्याज प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । हालसम्म ४६ जना दलित महिला यस योजनाबाट लाभ उठाई सफल उद्यमी बनेको फेडोले जनाएको छ । परियोजनाको पहिलो वर्ष १० समूहलाई ४२ हजार र दोस्रो वर्ष १० समूहलाई ३५ हजार रुपैयाँ वितरण गरिएको थियो । रिफन्डेबल कोषको रूपमा समूहले सिफारिस गरेका सदस्यलाई बीउँ पूँजी उपलब्ध गराइन्छ । रकम लिएको एक महिनाभित्र व्यवसायिक योजना अनुसार काम सुरु गर्नुपर्ने र ६ महिनाभित्र समूहलाई फिर्ता गर्नु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।
समयमै काम अघि नबढे फेडोले रकम फिर्ता लैजाने नियम लागू हुँदै आएको छ । नेपालमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटीको सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको हो । फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घलानले यस्ता कार्यक्रमहरूले महिलालाई आर्थिक सुदृढतासँगै आफ्ना हक–अधिकार पहिचान गरी अन्यायविरुद्ध आवाज उठाउन प्रेरित गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*