मंसिर २० गतेदेखि मुख्यबजारमा सवारी आवागमनमा रोक, बाइपास मार्गहरु तयार गरिंदै
११ मंसिर, हेटौँडा । मंसिर २० गतेदेखि हेटौडाको मुख्यबजारमा सवारी आवागमनमा रोक लगाइने भएको छ ।
हेटौंडामा हुने सडक विस्तार कार्यलाई सुचारु बनाउन बाइपास मार्गहरू तयार पार्ने प्रक्रिया तीव्र बनाइएको छ । बुधबार बिहान डिभिजन सडक कार्यालयका प्राविधिकसहित प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले चौकीटोल हुँदै रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गर्नुभएको छ । बाइपास मार्गहरू निरीक्षण गरी आवश्यकता अनुसार सडक मर्मत गरि वैकल्पिक रुपमा यातायात सञ्चालनको व्यवस्था गर्न लागिएको हो ।
सडक विस्तारका कारण मुख्य बजार क्षेत्रमा सवारी चल्दा अवरोध हुने भएकाले २० गतेदेखि बजार भित्र सवारी आवागमन रोक्ने र वैकल्पिक मार्ग प्रयोग गराउने तयारी भएको छ । हेटौंडाबाट काठमाडौँ–भैँसे हुँदै आउने सवारीसाधनलाई चौकीटोल हुँदै राप्ती नदी उकास क्षेत्रबाट राप्ती पुल त्रिवेण्ीधाम भएर रातोमाटेतर्फ जाने व्यवस्था मिलाइने तयारी भएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गतर्फ हुँदै पूर्व जाने सवारीलाई राप्ती किनार हुँदै रातोमाटे, मदनभण्डारी लोकमार्ग र कान्तिलोकपथमार्ग हुँदै आउने सवारीलाई कमाने हुँदै रातोमाटे निस्कने गरी बजार क्षेत्रमा सवारी प्रवेश रोक्ने व्यवस्था मिलाउने तयारी भएको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीले बताउनुभयो । २० गते अगावै वाइपास सडक मर्मतको कार्य सक्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसलाले सेमत सडक विस्तारका लागि कानूनी मार्ग प्रशस्त गरिदिएकोले यसपटक सूचना मात्रैमा सीमित नरही २० गतेदेखि सडक विस्तार कार्य सुरु हुने प्रमुख अधिकारीले बताउनुभयो । सूचनामा उल्लेख गरिएको समयसीमाभित्र सडक सीमा खाली गर्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो । उक्त अवधि भित्र संरचना नहटाए नियम अनुसार कार्य अघि बढाइने प्रमुख अधिकारीले बताउनुभयो ।
हेटौंडाको सडक विस्तार क्षेत्रमा ५ सय ३० भन्दा बढी घर–टहरा रहेको सडक डिभिजनले जनाएको छ ।













