हेटौंडामा सडक विस्तारका लागि टास्क फोर्स गठन
१० मंसिर, हेटौँडा । हेटौंडाको लामो समयदेखि सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्य यसपटक भने अघि बढ्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको सरकारी कार्यालयका प्रमुखहरूको बैठकले सडक विस्तारका लागि विशेष टास्क टिम गठन गरेको छ । सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको नेतृत्वमा गठन गरिएको टास्क फोर्समा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित निकायका प्रतिनिधि सदस्य छन् ।
टास्क फोर्सले बुधबारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहनेछ । सडक विस्तारका क्रममा विद्युत, खानेपानी, टेलिफोनलगायत सेवामा समस्या नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । टास्क फोर्सले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनामा रेखांकन गर्ने, रंग लगाउने तथा आवश्यक कारबाही अघि बढाउने लगायतका कार्य गर्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रदेश राजधानीलाई बस्न योग्य शहर बनाउन सडक विस्तार अपरिहार्य रहेको बताउनुभयो । एसियाली विकास बैंक –एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले अब यो कार्य रोकिन नहुने उहाँको भनाई रहेको छ । सुन्दर शहर निर्माणको अभियानमा सबै सकारात्मक भएर सहभागी बन्न उहाँले आग्रह गर्नुभयो । सिमा क्षेत्र भित्र पर्ने घरधनीहरू स्वयंले संरचना हटाइदिए सडक विस्तार सहज हुनेमा प्रमुख जिल्ला अधिकारीको अपेक्षा रहेको छ । सबैलाई जीतको अनुभूति हुने गरी काम अघि बढाइने उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट २५÷२५ गज दायाँबायाँ निर्माण भएका स्थायी–अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ ।













