भारतद्वारा नेपाललाई १० वटा बेलिब्रिज सहयोग
४ मंसिर, हेटौँडा । बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न भारत सरकारले यस वर्ष पनि नेपाललाई १० वटा ‘बेलिब्रिज’ उपलब्ध गराएको छ ।
गत वर्ष पनि १० वटा ‘बेलिब्रिज’ सहयोग गरेको भारतले यस वर्ष थप १० वटा बेलीब्रीज उपलब्ध गराएको हो । हेटौंडास्थित सडक डिभिजन कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई ‘बेलिब्रिज’को भाग प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीच ऐतिहासिक, घनिष्ठ र सहयोगी सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा निरन्तर सहयोग रहने बताउनुभयो ।
उपलब्ध गराइएका पुलहरू लामो र टिकाउ रहेको उहाँकोे भनाइ रहेको छ । रामेछापमा स्थापना हुने यो पुलले सिन्धुली र रामेछापको सडक सञ्जाललाई जोड्ने राजदुत श्रीवास्तवले बताउनुभयो । उहाँले पुल स्थापनाको लागि प्राविधिक जनशक्तिहरु पनि उपलब्ध गराउने बताउनुभयो ।

मन्त्री घिसिङले भारतले गत वर्ष उपलब्ध गराएका ‘बेलिब्रिज’कै सहयोगले बाढी–पहिरो प्रभावित क्षेत्रमा राजमार्ग छिट्टै सञ्चालनमा ल्याउन सहयोग पुगेको बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी राजमार्गसम्म भारतले पु¥याइरहेको सहयोगको प्रशंसा गर्दै पूर्वाधार विकासले आर्थिक वृद्धिसँगै नागरिकलाई राष्ट्रसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विपद् व्यवस्थापनदेखि विकास निर्माणसम्म भारत नेपालका लागि विश्वसनीय साझेदार बनेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री घिसिङले सीमापार रेलमार्ग विस्तार, विशेषगरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दीबास लाइन तथा जोगवनी–विराटनगर करिडोर परियोजना दुवै मुलुकबिचको सम्बन्ध अझ सुदृढ बनाउने आधार बनेको उनले उल्लेख गरे ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी पुल ७० मिटरभन्दा बढी लम्बाइका रहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले तत्कालै ४ स्थानमा यी पुल जडान गर्ने तयारी गरिएको बताउनुभयो । सचिव शर्माले नेपालमा ५० मिटरभन्दा बढी लम्बाइका ‘बेलिब्रिज’ खरिद गर्न कठिनाइ रहेको बताउँदै भारतले उपलब्ध गराएका ७० मिटर लम्बाइ र ५ दशमलव २५ मिटर चौडाइका पुल आपतकालीन अवस्थाका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।
उपलब्ध गराइने १० पुलमध्ये हाल एउटा मात्रै नेपाल आइपुगेको छ । बाँकी चाँडै आउने जानकारी पनि उहाँले दिनभयो । यसका साथै पुल जडानका लागि प्रावधिक सहयोग पनि भारत सरकारले उपलब्ध गराउने उहाँले बताउनुभयो ।













