प्रधानमन्त्रीलाई भट्टराईको प्रश्नः संविधानको कुन धारा टेकेर प्रधानमन्त्री पद स्वीकार गर्नुभयो ?
२९ कार्तिक, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीलाई संविधानको कुन धारा टेकेर प्रधानमन्त्री पद स्वीकार गरेको भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री कार्कीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताउनुभयो । वर्तमान प्रधानमन्त्री निर्वाचित पनि नभएको र प्रतिनिधिसभाको सदस्य पनि नरहेकोले कुन अधिकारको प्रयोग गरेर संसद् विघटन गरेको भन्दै उहाँले प्रश्न गर्नुभयो । लोकतन्त्रको जर्गेना संविधानको रक्षाको लागि भन्दै केन्द्रिय निर्देशन बमोजिम एमाले मकवानपुरले शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुहुँदै प्रदेश इन्चार्ज भट्टराईले संविधानका धाराहरु च्यातिने काम भएको बताउनुभयो । जनताको लामो संघर्ष र योगदानबाट प्राप्त संविधान माथि हुने खेलबाड नेकपा एमालेलाई अस्वीकार्य रहेको उहाँले बताउनुभयो ।
संविधानलाई सही ट्रयाकमा ल्याउनको लागि संसदको पुर्नस्थापना पहिलो शर्त भएको उहाँको भनाई छ । नेकपा एमाले निर्वाचनबाट नभागेको समेत उहाँको धारणा छ । प्रदेश इन्चार्ज भट्टराईले निष्पक्ष र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारभुत मान्यता भएपनि सरकार त्यसतर्फ नलागेको आरोप लगाउनुभयो । ५ हजार भन्दा बढी फरार कैदी लुकेर बसेको, लुटेका हातहतियारहरु फेला नपरेको, प्रहरीको मनोबल गिरेको अवस्थामा निष्पक्ष निर्वाचन हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो । प्रदेश इन्चार्ज भट्टराईले ठुलो दलका नेतालाई एरिया नजरबन्द गरेर कस्तो खालको निर्वाचन गर्न लागेको भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्रीको मनसाय नै स्वच्छ निर्वाचन गराउनु नरहेको उहाँले जिकिर गर्नुभयो ।

प्रदेश इन्चार्ज भट्टराईले नेकपा एमाले राष्ट्रियता, सुशासन, देशभक्तिको प्रतिक भएको बताउनुभयो । नेकपा एमालेलाई समाप्त पार्न प्रतिक्रियावादी शक्तिहरुले भदौ २३ र २४ गते षड्यन्त्र रचेको उहाँले आरोप लगाउनुभयो । जेनजी युवाहरुले सुशासनको पक्षमा, भ्रष्टचारको विरुद्धका उठाएको आन्दोलनमा एमालेको ऐक्यबद्धता रहेको समेत उहाँले जिकिर गर्नुभयो । प्रदेश इन्चार्ज भट्टराईले सुशासन र भ्रष्टचारको मामिलामा नेकपा एमाले अरु राजनीतिक दलभन्दा अगाडि रहेको दाबी गर्नुभयो । भ्रष्टचारको आरोप लाग्ने बित्तिकै एमालेले आफ्ना नेताहरुलाई निलम्बन गरेको समेत उहाँले बताउनुभयो । कृत्रिम भाष्य खडा गरेर एमालेको सुशासन प्रतिको प्रतिबद्धतामा गलत भ्रम नफैलाउन पनि उहाँले चेतावनी दिनुभयो ।

त्यसैगरी जनसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य महेश बर्तौलाले संसद् पुर्नस्थापनाबाट नै जेनजी युवाको सुशासनको मागलाई पुरा गर्न सकिने बताउनुभयो । देश अहिले अवैध सरकारबाट अलोकतान्त्रिक मार्गमा चलिरहेकोे उहाँको धारणा छ । केन्द्रिय सदस्य बर्तौलाले संसद् पुर्नस्थापना गरी जेनजी युवा पुस्ताको समेत सहभागितामा अन्तरिम सरकार गठन गरी अर्ली इलेक्सनमा जानुपर्ने बताउनुभयो । वैधानिक सरकारले मात्र देशलाई संवैधानिक ट्रयाकमा अगाडि बढाउन सक्ने उहाँले बताउनुभयो । एमालेका नेता जोडिएका भ्रष्टचारका फाइलहरु भए सुरु मै त्यही फाइलको संवैधानिक प्रक्रिया अनुसार अनुसन्धान गर्न उहाँले सरकारलाई चुनौती दिनुभयो ।
केन्द्रिय सदस्य बर्तौलाले नेकपा एमाले विरुद्ध सम्पूर्ण शक्तिहरु एकजुट भएको बताउनुभयो । एमाले एक्लै परे पनि राष्ट्रियताप्रतिको अडान नछाड्न उहाँले आग्रह गर्नुभयो ।

जनसभामा केन्द्रिय सदस्य एवम् मकवानपुरका इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायतको आतिथ्यता रहेको थियो । एमालेले ठूलो संख्यामा मोटरसाइकल एकत्रित गरी मोटरसाइकल ¥याली समेत निकालेको थियो । हुप्राचोरबाट सुरु भएको ¥याली हेटौंडा बजार परिक्रम गर्दै पुनःहुप्राचौर पुगेको समापन भएको हो ।
¥यालीमा आउने कार्यकर्ताहरुलाई पार्टीले अनिबार्य हेलमेट लगाउनुपर्ने, एउटा मोटरसाइकलमा २ जनाभन्दा बढी बस्न नपाइने, लाइसेन्स भएका व्यक्तिले मात्रै मोटरसाइकल चलाउने व्यवस्था मिलाएको थियो ।
¥यालीलाई व्यवस्थित गर्नका लागि जिल्ला सदस्य तथा युवा इन्चार्ज सानु लामाको संयोजकत्वमा १ सय जनाभन्दा बढी युवाहरुको स्वयम्सेवक दस्ता परिचालन गरिएको थियो ।

मोटरसाइकल ¥यालीलाई एकत्रित गरी व्यवस्थापन गर्न हेटौँडाबाट पश्चिमतर्फ सचिवालय सदस्य हेमलाल उप्रेतीको संयोजन, उत्तरतर्फ सचिवालय सदस्य मेम्बर लोको संयोजन, पूर्वतर्फ सचिवालय सदस्य अनिल बानियाको संयोजन र बजार क्षेत्रमा उपसचिव फुर्वा दोर्जे लामाको संयोजन रहेको थियो ।













