मेचि–महाकाली साइकल यात्री टोलीलाई हेटौंडामा स्वागत
२६ कार्तिक, हेटौँडा । झापाको मेचिनगर नगरपालिका–१० बाट मेचि–महाकाली साइकल यात्रा सुरु गरेको भद्रपुर साइकल समाजको ५ जनाको टोलीलाई बुधबार बिहान हेटौंडामा स्वागत गरिएको छ ।
हेटौंडाको बुद्धचोकमा साइकल सिटी हेटौंडाको आयोजनामा यात्रु टोलीको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।
भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठको नेतृत्वमा कात्तिक २३ गते मेचिनगरबाट सुरु भएको टोली मंगलबार साँझ हेटौंडा आइपुगेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालमा साइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गए पनि अझै पनि साइकलमैत्री कानुन, पूर्वाधार र जनदृष्टिकोणमा आवश्यक सुधार हुनुपर्ने बताए । उनले मेचि–महाकाली साइकल यात्राको उद्देश्य नै देशभर साइकलमैत्री वातावरण निर्माण र स्वस्थ जीवनशैलीप्रति समाजलाई सचेत बनाउने रहेको उल्लेख गरे ।
कार्यक्रममासाइकल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले हेटौंडालाई साइकलमैत्री शहर बनाउने अभियानमा संस्था निरन्तर सक्रिय रहेको बताउँदै, मेचि–महाकाली यात्राले सो प्रयासलाई थप बल दिने विश्वास व्यक्त गरे । उनले भद्रपुर साइकल समाजका यात्रुहरूले साइकल संस्कृतिको संरक्षण र प्रचारमा योगदान पु¥याइरहेको भन्दै धन्यवाद ज्ञापन गरे ।
संस्थापक अध्यक्ष दीपक खड्काले अहिलेको प्रतिकूल मौसममा पनि युवाहरूले उत्साहका साथ लामो दूरीको यात्रा आरम्भ गरेको साहस प्रशंसनीय रहेको बताए । उनले साइकल प्रयोग स्वास्थ्य, वातावरण र ऊर्जासंरक्षणका दृष्टिले फाइदाजनक हुने भन्दै यस्ता यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा साइकल सिटी हेटौंडाका महासचिव रामप्रसाद फुयाल, कोषाध्यक्ष मंगल लामा लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा यात्रु टोलीका सदस्य जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवबहादुर श्रेष्ठ, विश्वचन्द्र महतो र समीर पोखरेललाई साइकल सिटी हेटौंडाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।













