स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा
२४ कार्तिक, हेटौँडा । जनस्वास्थ्य कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गरेका कार्यहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ ।
सोमबार र मंगलबार दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले गत आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिहरूको प्रस्तुतीकरण गर्नेछन् । समीक्षा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि घलानले स्वास्थ्यप्रति सबै संवेदनशील र सचेत रहन आग्रह गर्दै पछिल्ला दिनमा स्वास्थ्यकर्मीहरू असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आम नागरिक पनि जिम्मेवार हुनुपर्ने बताउँदै स्वास्थ्यकर्मीमाथि आक्रोश प्रकट गर्नुको सट्टा उनीहरूको मनोबल बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानसिक स्वास्थ्यप्रति सचेत रहनुपर्ने बताउँदै योग, ध्यान तथा रैथाने खानेकुराको प्रयोगले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
प्रमुख घलानले करोडौँ लगानीमा स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल सञ्चालनमा आउन नसक्नु दुःखद भएको उल्लेख गर्दै अस्पताल सञ्चालनमा स्थानीय तहलाई समस्या परेको बताउनुभयो ।
कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाका १० वटै स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र विस्तारको क्रममा रहेको जानकारी दिनुभयो । उद्घाटन सत्रमा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले सम्पन्न गरेका कार्यहरू, उपलब्धीहरू र जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईँ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।













