शारदा मा.वि.ले मंसिर १ गतेदेखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने
२२ कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यमिक विद्यालयले स्वर्ण महोत्सव सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरि मनाउने भएको छ ।
विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न विद्यालयस्तर, पालिकास्तर र जिल्लास्तरीय कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो । स्वर्ण महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले बताउनुभयो । उद्घाटनसत्रमा विद्यालय गान तथा स्वर्ण महोत्सवगान विमोचन समेत हुनेछ । महोत्सवको अवसरमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण शिविर लगायत ५८ वटा विभिन्न गतिविधि सञ्चालन हुने बताइएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत कात्तिक ३० गते जिल्लास्तरीय शिक्षक चेस प्रतियोगिता, मंसिर २ गते पालिका स्तरीय चेस प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता, मंसिर ५ र ६ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता लगायका रहेका छन् । विद्यार्थीहरूको प्रतिभा प्रदर्शनका साथै अभिभावकबीच दोहोरी प्रतियोगिता, शिक्षक नृत्य, शिक्षक हाजिरिजवाफ, स्लो बाइक तथा स्कुटी रेस पनि आयोजना गरिने विद्यालयले जनाएको छ । विद्यालयले कात्तिक ४ र ५ गते देउसी–भैलो कार्यक्रममार्फत १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो उक्त रकम महोत्सवको आयोजनाका साथै बाँकी रकम विद्यालयको अक्षयकोषमा जम्मा गर्ने प्रधानाध्यापक कार्कीले बताउनुभययो ।
कार्यक्रमका लागि वडा कार्यालयले २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको वडा अध्यक्ष दीपेश दाहालले बताउनुभयो । शारदा माध्यमिक विद्यालयले २०८१ सालको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । हाल विद्यालयमा ५ सय १४ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले बताउनुभयो ।













