हेटौंडा क्याम्पसको १७ औं क्याम्पस सभा सम्पन्न
२२ कार्तिक, हेटौँडा । हेटौंडा क्याम्पसले हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा निर्माणधीन क्याम्पसको भवनलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
शनिबार भएको क्याम्पसको १७ औं सभामा क्याम्पसको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुहुँदै सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त भवन निर्माण अनुदानलाई सम्पन्न गरी प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकासंग सहकार्य र समन्वय गरी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो । हाल क्याम्पस रहेको स्थानको पूर्वी भागमा होटेल म्यानेजमेन्ट सहित ल्याब सहितको भवन बनाउन बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा प्रस्ताव गर्ने योजना पनि क्याम्पसको रहेको छ । शैक्षिक अडिटलाई नियमित गरी पठनपाठनको प्रक्रियामा अत्याधुनिक प्रविधि सञ्चालनमा योग्य बनाइने नीति तर्जुमा गरिने अध्यक्ष पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार आवश्यकता अनुरुप विभिन्न क्याम्पसहरुलाई समायोजन गर्ने र विश्व विद्यालयहरुसंग सम्बन्धन तथा समायोजनको नीति लिइनेछ । अध्यक्ष पराजुलीले क्याम्पसको आर्थिक पक्षलाई सुदृढ पार्न श्रोतको खोजी गरिने र दाताहरुको पहिचान समेत गरिने बताउनुभयो । आगामी वर्ष विद्यार्थी भर्ना दरलाई बढाउन समुदायमा आधारित कार्यक्रमहरु समेत क्याम्पसले सञ्चालन गर्ने भएको छ । शैक्षिक क्यालेण्डर निर्माण गरी प्रविधिमैत्री शिक्षामा जोड दिने नीति पनि क्याम्पसको रहेको छ । कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको जर्नलको पनि सार्वजनिक र विमोचन गरिएको थियो ।
मकवानपुर जिल्लामै पहिलो पिएचडी गर्नुभएको डा. गणेश बल लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, ४ नं. वडा अध्यक्ष नविन सिग्देल, १६ नं. वडा अध्यक्ष रामकृष्ण कोइराला, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, क्याम्पसका निवर्तमान अध्यक्ष मुनु सिग्देल लगायतका राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।
क्याम्पसले विभिन्न संकायको वार्षिक परीक्षमा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत समेत गरेका छ । २०४५ मा रत्न ज्योति क्याम्पस काठमाडौंको शाखाको रुपमा २०४७ सालमा स्थापित यस क्याम्पसमा प्लस टु र त्रिविबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र, व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतको ४ वर्षे स्नातक र शिक्षाशास्त्र संकायमा २ वर्षे स्नातकोत्तर तहको पढाई सञ्चालन भइरहेको छ । हाल क्याम्पसमा १ हजार ४ सय ६१ विद्यार्थी अध्ययनरत् छन् ।













