निर्वाचनको लागि राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुन जरुरीः प्रजिअ अधिकारी

स्वर्णिम खबर
२१ कार्तिक २०८२, बिहीबार १८:२३

२० कार्तिक, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आउँदो फागुन २१ गते हुने लक्षित निर्वाचन सफल बनाउन प्रशासन तीव्र रुपमा लागेको बताउनुभएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सञ्चारकर्मीसंग परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सबै पक्ष सक्रिय रहेको बताउनुभयो । प्रजिअ अधिकारीले जेनजी आन्दोलनका क्रममा केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोबल खस्किएको उल्लेख गर्दै अब मनोबल उच्च बनाएर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
खस्केको मनोबल नउठाई निर्वाचन सफल पार्न नसकिने भन्दै मनोबल उच्च राख्दै नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिइरहेको उहाँले दाबी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीले जेनजी आन्दोलनलाई राष्ट्रसेवक कर्मचारीले सकारात्मक रूपमा बुझ्न आवश्यक रहेकोमा जोड दिनुभयो । व्यवस्था परिवर्तन र सुशासन स्थापनाको सन्देश जेनजी आन्दोलनले दिएको उहाँको धारणा छ ।
मतदाता नामावली अद्यावधिकको विषयमा उहाँले जिल्लामा अपेक्षाकृत रूपमा मतदाता संख्या नबढेको बताउनुभयो । २०७९ सालदेखि हालसम्म करिब २ हजार मात्र मतदाता थपिएको भन्दै उहाँले दर्ताका लागि सदरमुकाम आउनुपर्ने प्रक्रिया व्यवहारिक नभएको टिप्पणी समेत गर्नुभयो । टाढाका बासिन्दालाई पायक नपरेकाले पालिका स्तरमै शिविर सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुवास चन्द्र बोहराले मकवानपुरलाई गाईगोरु तस्करी केन्द्र भनेर गलत बुझाइ नगरिन आग्रह गर्नुभयो । मकवानपुर तस्करीको केन्द्र नभई अन्य जिल्लाबाट ल्याइएका गाईगोरु र तरकारी ढुवानीका लागि ट्रान्जिटको रूपमा प्रयोग भइरहेको उहाँले बताउनुभयो । आपूले जिम्मेवारी सम्हालेको ४५ दिनभित्रै चारपटक गाईगोरु तस्करीमा संलग्न समूहविरुद्ध कारबाही गरेको उहाँले दाबी गर्नुभयो । यस अवधिमा सात जनालाई पक्राउ गरी कानूनी कारबाही अघि बढाइएको पनि उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा सञ्चारकर्मीहरूले जिल्लामा बढ्दै गएको लागू औषध कारोबार, सुरक्षा व्यवस्था, गाजा नियन्त्रण, अवैध ढुंगा–गिटी उत्खनन, बसपार्कमा मौलाउँदै गएको यौन व्यवसाय, र एम्बुलेन्स चालकको मनोमानीलगायतका विषयमा सवाल उठाएका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*