मकवानपुर जिल्ला गाईगोरु तस्करीको ट्रान्जिट बन्दै
१९ कार्तिक, हेटौँडा । पछिल्लो समय मकवानपुर जिल्लालाई ट्रान्जिट बनाएर गाईगोरु तस्करी हुने क्रम तीव्र बनेको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिनामै ७० भन्दा बढी गोरु अवैध रूपमा ढुवानी हुँदै गर्दा नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला पशु सेवा कार्यालयको सक्रियतामा मंगलबार पनि हेटौंडातर्फ ल्याइँदै गरेको ट्रकबाट २२ वटा गोरु नियन्त्रणमा लिइएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३–००१ ख ०२१५९ नम्बरको ट्रक हेटौंडा–१९ नेवारपानीमा चेकजाँच गर्ने क्रममा पशु सेवा मापदण्ड विपरीत ट्रकमा खचाखच गरी ल्याइएको थियो ।
तीमध्ये दुईवटा गोरु मृत अवस्थामा फेला परेका थिए । जिल्ला पशु सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २०० भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएका थिए । यस आर्थिक वर्षमा ७० सहित हालसम्म कुल २७० गाईगोरु नियन्त्रणमा लिइएको छ । पश्चिमतर्फबाट पूर्वका जिल्लातर्फ लैजाने क्रममा मकवानपुरलाई ट्रान्जिटको रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताउनुभयो ।
नियन्त्रणमा लिइएका गोरुहरूलाई मकवानपुरमा गौशाला नहुँदा स्थानीय किसानलाई कृषि प्रयोजनका लागि जिम्मा लगाउने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । मंगलबार नियन्त्रणमा लिइएका गोरुमध्ये ८ वटा हेटौंडा–१६ आकाशधाराका किसान र १२ वटा बकैया क्षेत्रका किसानलाई प्रदान गरिएको छ । भिरालो पाखामा ट्रयाक्टर नजाने बारी जोत्न निशुल्क रुपमा गोरु पाउँदा किसानहरू खुशी भएका छन् ।

धेरै गाईगोरुहरू अवैध रूपमा सीमापार लैजाने समेत गरिएको बताइन्छ । गाई गोरु ओसारपसारमा संलग्न सवारी चालक र चरुवा पक्राउ परे पनि मुख्य तस्करहरू भने कारबाहीमा पर्ने गरेका छैनन् । एकल प्रयासले यो समस्या समाधान गर्न नसकिने प्रमुख डा.ठाकुरले बताउनुभयो ।
पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाईगोरुको लागि ० दशमलब ८४ देखि १ दशमलब २७ वर्गमिटर ठाउँ सुनिश्चित हुनुपर्ने, पशु ढुवानीका गाडीमा प्राथमिक उपचार बक्स अनिवार्य हुनुपर्ने, फरक प्रजातिका पशु एउटै गाडीमा राख्न नपाइने, पशुको टाउको चालकतर्फ हुने गरी राख्नुपर्ने, नाक वा पुच्छर बाँध्न नहुने उल्लेख छ । त्यस्तै, यात्रा अवधिमा घाँस र पानीको व्यवस्था गर्नुपर्ने र ८ घण्टाभन्दा बढी लगातार ढुवानी गर्न नपाइने व्यवस्था गरिएको छ । तर मकवानपुर हुँदै हुने धेरैजसो ढुवानीमा यी मापदण्डहरू बेवास्ता गरिएको जिल्ला पशु सेवा कार्यालयको भनाइ छ ।













