अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
१० कार्तिक, हेटौँडा । श्रद्धा, भक्ति र शुद्धताको प्रतीक मानिने तराई–मधेसको महत्वपूर्ण पर्व छठ सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धापूर्वक मनाइएको छ ।
छठ पर्वको मुख्य दिन सोमबार षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा अनुसार व्रतालुहरू हेटौंडा १ स्थित राप्ती किनारमा निर्माण गरिएको छठघाटमा पुगी छठी माताको पूजा आराधना गरेका हुन् । यस अवसरमा छठघाटलाई पण्डाल, बिजुली बत्ती, टेन्ट र झिलिमिली बत्तीले निकै आकर्षक रूपमा सजाइएको थियो । व्रतालुहरू जलाशयमा पसी बाँसको चोयाबाट बनेको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता र पातसहितको मूलालगायतका फलफूल तथा प्रसाद राखेर अर्घ दिने परम्परालाई निष्ठापूर्वक पालना गरेका थिए ।
पर्वको विधिवत् समापन भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि हुनेछ । भोली व्रतालुहरू झिसमिसेमै नुहाइधुवाई गरी पूजन सामग्रीसहित छठघाट पुग्नेछन् । विगतका वर्षहरूझैं यस वर्ष पनि संयुक्त मधेशी समाज मकवानपुरले छठ पूजाको भव्य आयोजना गरेको छ । समाजका सचिव नन्दलाल दासका अनुसार, यस वर्ष करिब ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ भने २५ वटा व्यवसायिक स्टल र बालबालिकाका लागि विशेष फन पार्कको व्यवस्था मिलाइएको छ । आयोजकले यस वर्ष करिब ५० देखि ६० हजार भक्तजन तथा अवलोकनकर्ताहरूको भीड लाग्ने अनुमान गरेका छन् ।
रातभर जाग्राम बस्ने भक्तजन र सुरक्षाकर्मीहरूको सहजताका लागि आयोजकले निःशुल्क चियाको समेत व्यवस्था गरेका छन । यस वर्ष छठ पूजाको कुल अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको जानकारी दिँदै सचिव दासले हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त हुने र बाँकी खर्च चन्दा संकलन तथा भक्तजनले पूजास्थलमा चढाएको भेटीबाट जुटाइने बताउनुभयो ।













