हेटौँडामा छठ पर्वको तयारी अन्तिम चरणमा
८ कार्तिक, हेटौँडा । हेटौँडामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
तराई मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको हो ।
हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा छठ पर्वका लागि राप्ती नदी किनार सिंगारिएको छ । यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको किनारमा भव्य तयारी गरिएको छ । आयोजक संयुक्त मधेशी समाज मकवानपुरका सचिव नन्दलाल दासका अनुसार, करिब ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईका पण्डाल निर्माण गरिएको छ । साथै २५ वटा व्यवसायिक स्टलहरू समेत निर्माण गरिएको छ ।
राप्ती खोलाको कटान गरी सम्याइएको बगरमा पण्डाल निर्माणका साथै, पूजास्थलको मध्यभागमा छठी माताको मूर्ति निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ । भक्तजनहरूको सहज प्रवेशका लागि आकर्षक प्रवेशद्वारहरू तयार पारिएका छन् । पूजा स्थलको विद्युतिकरणको काम पनि भइरहेको छ । बालबालिकाका लागि विशेष फन पार्कको समेत व्यवस्था गरिएको सचिव दासले जानकारी दिनुभयो । यस वर्ष लगभग ५० देखि ६० हजार भक्तजन तथा अवलोकनकर्ताहरूको भीड लाग्ने अनुमान आयोजकको रहेको छ । रातभर जाग्राम बस्ने भक्तजन र सुरक्षाकर्मीहरूको सहजताका लागि आयोजकले निःशुल्क चियाको व्यवस्था पनि गरेको छ ।
छठ पर्वले तराई र पहाडबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । सन्तान प्राप्ती, सन्तानको सुख–समृद्धिको कामनाका साथ मनाइने यो पर्व प्रकृति पूजासँग पनि जोडिएको सचिव दासले बताउनुभयो ।
वर्ष छठ पुजाको लागि कुल अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग हुने र बाँकी खर्च चन्दा संकलन तथा भक्तजनहरूले पुजास्थलमा चढाएको भेटीबाट जुटाइने आयोजकले जनाएको छ । सूर्यदेवको आराधनासँग सम्बन्धित यो चार दिवसीय पर्वको सुरुवात नहाय–खाय बाट हुन्छ । दोस्रो दिन खरना मनाइन्छ, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ, र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै छठ पर्वको विधिवत् रूपमा समापन गरिन्छ ।













