हेटौँडामा जेन–जीको प्रदर्शन, गगन थापा आउने कार्यक्रम स्थगित

स्वर्णिम खबर
२३ भाद्र २०८२, सोमबार १८:०९

२३ भाद्र, हेटौँडा । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सोमबार हेटौंडामा पनि २८ वर्ष मुनिका जेन–जी युवाहरूको समूहले प्रदर्शन गरेका छन् ।
स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका युवाहरूको प्रदर्शन मकवानपुरमा शान्तिपूर्ण रह्यो । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको विरोध ¥याली सानोपोखरा, बुद्धचोक हुँदै बागमती प्रदेश सभा भवन परिसरसम्म पुगेको थियो । प्रदेश सभा भवन परिसरमा कोणसभामा परिणत भएको उक्त ¥यालीमा युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला र हामी बोल्न चाहन्छौं, सरकारले सुन जस्ता नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, करको रकमको सही उपयोग, स्वदेशमै रोजगारी सिर्जना हुनुपर्ने, र सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धविरुद्ध जोडदार आवाज उठाएका थिए । युवा प्रदर्शनलाई लक्षित गरी हेटौंडाको सुरक्षा व्यवस्था कडा बनाइएको थियोे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका केन्द्रित यस प्रदर्शनमा एक हजारभन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा, युवाहरूले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामासँग भेटघाट गरेका थिए । उनीहरूले तीनै तहका सरकारले गरिब जनताका लागि प्रभावकारी कार्य नगरेको र नेताका छोराछोरीहरूको आलिसान जीवनशैलीप्रति कडा विरोध जनाएका थिए । नगर प्रमुख लामाले सोमबार बिहान सामाजिक सञ्जालमा सामग्री राख्दै जेन–जी पुस्ताका मागहरू जायज रहेको बताउनुभएको थियो ।
                                                                              गगन थापा हेटौंडा आउने कार्यक्रम स्थगित
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हेटौंडा आउने कार्यक्रम स्थगित भएको छ ।
१ सय १२ औं वीपी ज्यन्ती दिवसको अवसरमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा मंगलबार हेटौंडा आउन लागेका थिए । तर विशेष कारणवश् भन्दै कार्यक्रम स्थगित गरिएको मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*