शिक्षा विधेयक संशोधनको माग गर्दै हेटौंडामा प्याब्सनको विद्यालय बस ¥याली
६ भदौ, हेटौँडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयक संशोधनको माग गर्दै शुक्रबार हेटौंडामा विद्यालय बस ¥याली निकालेको छ ।
बिहीबार बसेको प्याब्सन प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठकको निर्णयअनुसार आज ¥याली निकालिएको हो । हुप्रचौरबाट सुरु भएको ¥यालीले रजत जयन्ती चोक, सीमाचोक, बुद्धचोक हुँदै लोकप्रिय भोजनालयबाट मनकामना चोकसम्म परिक्रमा गरेको थियो । शिक्षा विधेयकमा निजी विद्यालयलाई एकतर्फी गैरनाफामूलक बनाउने प्रावधान गरेको भन्दै त्यसमा संशोधन गर्नुपर्ने माग गरिएको प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताउनुभयो ।
साथै, १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउनुपर्ने प्याब्सनको माग रहेको छ । यसअघि प्याब्सनले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरलाई ज्ञापनपत्र बुझाइसकेको छ। माग सम्बोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने प्याब्सनले जनाएको छ।













