नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने ४ जना पक्राउ

स्वर्णिम खबर
४ भाद्र २०८२, बुधबार १८:३०

४ भाद्र, हेटौँडा । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने गिरोहका चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्य बहादुर नेगी, सोही गाउँपालिकाका ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ का ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा हेटौंडा ११ सुकुम्बासी टोलस्थित त्रिवेणीचोक नजिक भाडाको कोठामा छापा मार्दा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरू बस्दै आएको कोठामा खानतलासी गर्दा झोलाभित्र सुनजस्तो देखिने पहेँलो धातुका ५० थान बरामद गरिएको छ । परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघमा पठाउँदा तीमध्ये ४९ थान नक्कली र १ थान मात्रै सक्कली सुन रहेको पुष्टि भएको हो । बरामद सक्कली सुन १० ग्रामको बजार मूल्य करिब १ लाख ६७ हजार ६ सय ९५ रुपैयाँ रहेको बताइएको छ ।
बरामद सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ भने बाँकी नक्कली धातु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध ठगी उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*