‘पर्यापर्यटनको विकासमा सामुदायिक वनको भुमिका अहम्’
२६ श्रावण, हेटौँडा । सामुदायिक वन समूहले गरेका कामहरुले विश्वमा नेपालको नाम राखेको हेटौडामा आयोजित सामुदायिक वनको उपलब्धि र आगामी कार्यदिशाा विषयक छलफल कार्यक्रममा सहभागीहरुले बताएका छन ।
दशौ सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै रानी सामुदायिक वनका अध्यक्ष केशव धितालले सामुदायिक वनले समूहमा आवद्व विपन्न वर्गका उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउनुको साथै पर्यापर्यटनको विकासमा समेत महत्वपूर्ण काम गरेको बताउनुभयो ।
तीनै तहका सरकारले सहयोग गर्नुपर्ने, सामुदायिक वनको कार्ययोजना समयमा नै नवीकरण हुनुपर्ने, समूहको भेला, लेखापरीक्षण, बैठक समयमा नै हुनुपर्ने, सरकारले लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, वन्यजन्तुबाट क्षति भएका बालीनालीको क्षतिपूर्ति दिनुपर्ने, वनडढेलो नियन्त्रणमा सक्रिय हुनुपर्ने लगायतका विषयहरुमा सहभागीहरुले आफनो धारणा राखेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले सामुद्रिक वनको उपलब्धि, आगामी कार्यदिशा र चुनौती विषयक कार्यपत्र पेश गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौडा १० का वडा अध्यक्ष फुर्वा दार्जे लामा, डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, फेकोफन केन्द्रीय सदस्य रामहरि चौलागाई, महासंघ पूर्व अध्यक्ष पञ्चमाया स्याङतान, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा , स्थानीय महासंघ मकवानपुरका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सामुदायिक वनका पदाधिकारी लगायतको सहभागिता थियो । देशभरी २३ हजार सामुदायिक वनले ३२ लाख हेक्टर वनको संरक्षण गरिरहेका छन ।
यस वर्षको नारा ‘समयमा नै कार्ययोजना नवीकरण गरौ सामुदायिक वनलाई गतिशिल बनाऔ’ भन्ने रहेको छ ।














