मकवानपुरको प्रशासन विरुद्ध जनप्रतिनिधि आन्दोलित, डेक्स राखेर प्रशासन परिसरबाटै सेवा दिए

स्वर्णिम खबर
५ श्रावण २०८२, आईतवार १५:२२

४ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरबाट सेवाग्राहीलाई सेवा दिएका छन् ।
उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै उनीहरूले सांकेतिक विरोध स्वरूप प्रशासनबाटै सेवा प्रवाह गरेका हुन् । नगर उपप्रमुख राजेश बानियाँसहित १० वटा वडाका अध्यक्षहरूले दुई घण्टासम्म परिसरमै डेक्स राखेर सेवा प्रवाह गरेका हुन् आन्दोलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष भने सहभागी भएका थिएनन् । आन्दोलनको कार्यक्रम तय गर्दा सामूहिक निर्णय नगरिएको भन्दै उनीहरू आन्दोलनमा उपस्थित नभएको बताइएको छ ।


वडा कार्यालय भन्दा जिल्ला प्रशासन कार्यालय बढी सुरक्षित लागेकाले प्रशासनबाट नै सेवा प्रवाह गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । आक्रमण भएको एक महिना बितिसक्दा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा अन्य सोझासाझा जनतालाई दुःख दिने काम गरेको उहाँको आरोप छ ।
यता, धर्ना स्थलमा पुगेका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणकारी पक्राउका लागि प्रहरीले वास्तै नगरेको भन्न नमिल्ने जिकिर गर्नुभयो । अनुसन्धानमा प्रहरी प्रशासन निरन्तर खटिरहेको उहाँको दाबी छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलले भने अनुसन्धानमा केही प्रगति देखिए पनि जति रुपमा अनुसन्धान हुनुपर्ने हो, त्यो रूपमा हुन नसकेको स्वीकार गर्नुभयो । घटना घटेको सुरुदेखि नै जिल्ला प्रशासनले दृश्य अदृश्य रुपमा अनुसन्धान कार्य अघी बढाइरहेको बताउनुभयो । घटनाप्रति शून्य सहनशीलता लिएको उल्लेख गर्दै जनप्रतिनिधिले आवश्यक ठानेमा जिल्ला प्रशासन कार्यालय सुरक्षाकर्मी खटाउन समेत तयार रहेको उहाँले बताउनुभयो ।


हेटौंडाका वडा अध्यक्षहरूले आज (आइतबार) र भोलि (सोमबार) जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् । वडा कार्यालयमा काम गरिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष न्यौपानेमाथि गत असार ४ गते आक्रमण भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*