८ बुँदे सहमति पछि बागमती प्रदेशसभा बैठक सुरु, राप्रपाले गरे बहिष्कार
१९ असार, हेटौँडा । बजेटमा भएको असहमतिको कारण पटक पटक सुचना टाँस गर्दै स्थगित भएको बागमती प्रदेशसभा बैठक बिहिबार देखि सुरु भएको छ ।
पछिल्लो पटक बिहीबार साँझ ५ बजेका लागि सारिएको बैठक साँझ ६ः४५ बजे सुरु भएको हो । दलहरूबीच बजेट माथिको छलफल प्रारम्भ गर्ने ८ बुँदे सहमति भएसँगै प्रदेशसभा बैठक सुरु भएको हो ।
बैठक सुरु भए लगत्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले आफ्नो धारणा राख्दै बजेटका त्रुटि नसमेटिएसम्म बैठकमा सहभागी नहुने भन्दै बाहिरिएका थिए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालीन खर्च व्यवस्थापन प्रस्ताव पेस गर्नुभएको थियो ।
त्यसपछि समय लिएर बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेट बारे धारणा राख्नुभयो । नेता जम्कट्टेलले बागमती प्रदेश सरकारको बजेटबाट सम्पूर्ण प्रदेशसभा सदस्यहरु शिर निहुरिएको बताउनुभयो । बजेटबारे बाहिर प्रकट असन्तुष्टिहरुको जवाफ दिन नसक्ने स्थितिमा रहेको उहाँले बताउनुभयो । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रिय कमिटी बैठकमा बजेटबारे कुरा उठ्नु राम्रो नभएको उहाँको भनाई छ ।
नेता जम्कट्टेलले बजेट माथि छलफल गर्ने आधार नै नभएको बताउनुभयो । सरकारले घाटा बजेट ल्याएको उहाँको भनाई छ । दुई ठुला दल मिलेर बनेको सरकारले दिनको १ बजेको लागि भनिएको बजेट राती ९ बजे किन प्रस्तुत गर्नुप¥यो भन्दै प्रश्न समेत गर्नुभयो ।
निषेधात्मक ढंगले प्रतिपक्षीहरुसंग सल्लाह, सुझाव नै नलिई सरकारले बजेट ल्याएको उहाँले बताउनुभयो । संसदीय मुल्य मान्यतालाई नै उल्लङघन गर्ने काम सरकारले गरेको उहाँले आरोप लगाउनुभयो । नेता जम्कट्टेलले घाटा बजेटबाट प्रदेश समृद्ध नहुने बताउनुभयो । सरकारले ठिक ढंगले आय र व्ययको अनुमान नै गर्न नसकेको नेता जम्कट्टेलले बताउनुभयो ।
नेता जम्कट्टेलले बजेटमा सैद्धान्तिक र नीतिगत विचलन भएको टिप्पणी गर्नुभयो । दलित, चेपाङ लगायतमा सिमान्तकृत समुदायको कार्यक्रमको लागि बजेट कटौती गरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । सरकारको बजेटले कसलाई प्रक्षय दिने काम गरेको छ भन्दै नेता जम्कट्टेलले प्रश्न गरे ।
यता मुख्यमन्त्री लामाले सरकारले कमीकमजोरी सच्याएर अघि बढ्ने गरी प्रतिपक्ष दलहरूको सुझाव ग्रहण गरेको बताउनुभयो । प्रतिपक्ष दलहरूको सुझावका आधारमा सरकार आवश्यक सुधारका काम गरेर अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री लामाले जनाउनुभयो ।
त्यसलगत्तै प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

















