१५ जना चालक र सहचालक सम्मानित

स्वर्णिम खबर
१८ असार २०८२, बुधबार १७:५६

१८ असार, हेटौँडा । अनुशासित र मर्यादित रुपमा सवारी सञ्चालन गर्ने चालकहरुलाई बागमती प्रदेश सरकारले पहिलो पटक सम्मान गरेको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार १५ जना उत्कृष्ट चालक र सहचालकलाई सम्मान गरेको हो । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनालले चालक, सहचालकलाई सम्मान प्रदान गर्नुभएको थियो ।
सम्मानित १५ जना चालक, सहचालकमध्ये तीन जना महिला चालक छन् । चालकहरु नवीना खड्का, सरिता गौतम, जानुका गौतमसहित यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा सम्मानित भएका हुन् ।
उनीहरुलाई जनही १५ हजार नगद प्रदान गरिएको श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख सुनिता गजुरेलले जानकारी दिनुभयो । चालकहरुको छनौट नारायणी यातायात व्यवसायी संघले छनौट गरेको छ । संघले गरेको मूल्यांकन, छनौट र सिफारिसलाई मन्त्रालयस्तरको मूल्यांकन समीक्षा समितिले समीक्षा गरी सम्मानित हुने चालक, सहचालकको नामावली टुंगो लगाएको थियो ।
यातायात मन्त्री प्रेमभक्त महर्जनले लामो रुटको चालक उत्पादन घटेकोमा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री प्रेमभक्त महर्जनले लामो रुटको चालक उत्पादन घटिरहेकोले मन्त्रालयले प्रोत्साहन कार्यक्रम ल्याएको बताउनुभयो ।
चालकहरुको प्रोत्साहनकै लागि सम्मान कार्यक्रम राखिएकोले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लामो रुटको चालक उत्पादन गर्न बजेट बिनियोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो । लामो रुटको सवारी चालक बुढापाका भएर विदा भएपछि नयाँ युवाहरु उत्पादन हुन नसकेको उहाँको चिन्ता थियो । मन्त्री महर्जनले २ सय ४५ जना महिला चालकहरु उत्पादनमा पनि मन्त्रालयले तालिम लगायतका कार्य गरिरहेको बताउनुभयो ।
व्यवसायलाई मर्यादित पेशा बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । कार्यक्रममा विज्ञ सल्लाहकार तुलसी रिजाल, महाशाखा प्रमुख बिमलप्रसाद भट्टराई र सुनिता गजुरेल, यातायात व्यवस्था कार्यालय चितवन भरतपुरका प्रमुख विष्णुकुमार भट्टराई, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, उपाध्यक्ष विष्णु विडारी, महासचिव सरोज खनाल, मुल्यांकन समिति सदस्य विश्वराज राईलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*