आन्तरिक रोजगार प्रवद्र्धनको लागि सरोकारवालासंग छलफल
१७ असार, हेटौँडा । आन्तरिक रोजगार प्रवद्र्धनको लागि स्थानीय सरकारको, निजी क्षेत्र र सरोकारवालाहरुबीच छलफल एवम् अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना एवम् उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार कार्यक्रम भएको हो । उपमहानगरका नगर उपप्रमुख राजेश बानिंयाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख घलानले रोजगार सम्बन्धी तालिमहरु प्रभावकारी हुन नसक्दा दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपरेको बताउनुभयो । दिएका तालिमहरुबाट कति जना स्वरोजगार भए त्यसमा बहस गर्नुपर्ने उहाँको भनाई छ । प्रमुख घलानले उद्योगको लागि चाहिने जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । लगानीकर्ताहरुलाई पनि लगानी सुरक्षाको अनुभुति गराउने जिम्मेवारी सरकारको भएको उहाँले बताउनुभयो ।
त्यसैगरी उपमहानगरका उपप्रमुख बानिंयाले रोजगारीको अवसरमा प्रत्येक नागरिकको घरमा पु¥याउन आफुहरु उद्योग संघसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उद्योगीहरुलाई नकारात्मक दृष्टिकोणले हेर्दा धेरै उद्योगहरु बन्द हुन पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा , वडढा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।













