सत्ता घटक दलहरुबीचको असमझदारी छरपष्ट देखियोः प्रतिपक्षी दल

स्वर्णिम खबर
१६ असार २०८२, सोमबार २०:२९

१६ असार, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् ।
सोमबारको प्रदेशसभा बैठक स्थगित भएपश्चात् प्रदेशसभा सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरुले विरोध गरेको हो । सत्तापक्षकै अन्तरविरोधको कारण संसद् अनिर्णयको बन्दी बन्न पुगेको उनीहरुको भनाई छ ।
बजेटको विषयमा मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा सत्ता घटक दलहरुबीचको असमझदारी छरपष्ट देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताउनुभयो ।
असार १२ गतेदेखि बजेट माथि छलफल सुरु गर्ने दलहरुबीच सहमति भएपनि सत्तापक्षकै कारण हालसम्म पनि छलफल प्रारम्भ नै हुन नसकेको उहाँले बताउनुभयो । दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगराई सरकारले एकलौटी ढंगले बैठक सार्ने काम गरेको प्रमुख सचेतक ढकालले आरोप लगाउनुभयो ।
बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित विभेदकारी र सेटिङमा आधारित बजेट सच्याएर मात्र समस्याको हल हुने उहाँले बताउनुभयो । प्रदेशसभालाई बन्धक बनाउनु भन्दा दलहरुसंग सम्वाद गरी आवश्यक निकाश निकाल्न पनि प्रतिपक्षी दलहरुले सरकारसंग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*