उपमहानगरको नीतिः आयोजना बैंक कार्यान्वयनमा ल्याउने, तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने

मनिल महतो
१० असार २०८२, मंगलवार १५:३५

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको मङ्गलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आर्थिक वर्षबाट आयोजना बैंक कार्यान्वयनमा ल्याउने बताउनुभएको हो । उहाँले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवर्धनका लागि होटल एशोसियसन मकवानपुर संगको सहकार्यमा सिटी टुर कार्यक्रमको थालनी गरिने भएको छ । तामाङ र नेवा भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख लामाका अनुसार चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवर्धनात्मक कार्य गरिने भएको छ ।


‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला÷पुरुषलाई प्राथमिकतामा राखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरको रहेको छ । उपमहानगरले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ ।
तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख लामाले बताउनुभयो । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीति समेत उपमहानगरपालिकाको रहेको छ ।
आगामी आर्थिक वर्षमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*