२५ मिटरको अन्यौलताको कारण ट्राफिक अस्तव्यस्त भयोः नगर प्रमुख लामा
८ असार, हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि ट्राफिक शिक्षक प्रशिक्षण प्रदान गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा हेटौंडा उपमहानगरभित्रका संस्थागत र सामुदायिक गरी १ सय २० वटा विद्यालयका प्रतिनिधि शिक्षकको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले २५ मिटर सडक विस्तारको अन्यौलताको कारण हेटौंडा बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताउनुभयो । उहाँका अनुसार हेटौंडामा २५ मिटर सडक विस्तार अब छिट्टै हुने छ । २५ मिटर सडक विस्तारपछि ट्राफिक व्यवस्थापन चुस्त रुपमा हुने उहाँको भनाई छ । हेटौंडा नगर क्षेत्रको ४ किलोमिटरमा मुआब्जा विवाद रहेको बताउँदै अन्यायमा परेकालाई मुआब्जा दिएर भएपनि सडक विस्तार कार्य सुरु गरिने उहाँले बताउनुभयो । नगर प्रमुख लामाले आगामी नीति कार्यक्रम तथा बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

यसैगरी प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण पौडेलले शिक्षक ट्राफिक कार्यक्रमलाई बागमती प्रदेशको नमूना कार्यक्रमका रूपमा हेरिएको बताउनुभयो । देशभर नै सवारी दुर्घटनाको आँकडा हेर्दा भयावह बन्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । आफूले सिकेका ज्ञान परिवार र समाजमा फैलाउने हुँदा विद्यार्थीलाई सवारी नियम, ट्राफिक सचेतना दिने उद्देश्यले शिक्षकलाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले वर्तमान पैदलयात्री भोलिका सवारी चालक बन्ने भएकाले कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिका लक्षित कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा ट्राफिक विद्यालय समन्वयकर्ता कञ्चन शर्मालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । गत आर्थिक वर्षमा मकवानपुरमा ३ सय ७१ सवारी दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख बच्चुराम फुयाँलले जानकारी दिनुभयो ।













