भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
७ असार, हेटौँडा । थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
नगरपालिकाको १८ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो । नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने पालिकाको नीति रहेको छ । क्षयरोगमुक्त घोषणा अभियानका लागि आवश्यक पर्ने जनशक्ति स्थानीय तहले क्रमशः व्यवस्थापन गर्ने नीतिमा उल्लेख गरिएको छ । निःशुल्क आधारभुत स्वास्थ्य सेवामा आम नगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने नीति नगरपालिकाको रहेको छ ।
कक्षा १ देखि ५ मा कम विद्यार्थी भएका विद्यालयहरुमा मल्टी ग्रेड मल्टी लेभलका कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो । आर्थिक वर्ष २०८२÷८३ देखि आधारभुत तहको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क गर्नको लागि विद्यालयस्तरको आवधिक, वार्षिक परीक्षाको सञ्चालन र व्यवस्थापन नगरपालिकाबाट सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्थामा निरन्तरता दिइने उल्लेख गरिएको छ । नगरपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धनको लागि वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरुलाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
त्यसैगरी सांस्कृतिक, प्राकृतिक, चलचित्र र आरोग्यमा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो । उहाँको अनुसार थाहा नगरलाई योग ध्यान पर्यटन क्षेत्रको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ । पर्यटकीय क्षेत्र तथा पार्कहरुको पर्यटन प्रवद्र्धनका लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने, भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने थाहा नगरपालिकाको नीति छ ।
नीति तथा कार्यक्रममा दुहुना गाई भैंसी र बाख्रा पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्दै दुहुना गाई भैंसी पाडापाडी खरिदमा अनुदानको कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ । आगामी २ वर्षभित्र नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने नीति नगरपालिकाको रहेको छ ।
थाहा नगरले अपाङ्गता भएका र एकल महिलाले सञ्चालन गर्ने व्यवसाय दर्तामा २० प्रतिशत छुट दिने भएको छ । त्यस्तै महिला, दलित, सिमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको छ । नगरपालिका मार्फत् सीप र प्रविधि हस्तान्तरण भई सुरुवात गरिएका लघु उद्यमलाई व्यवसाय दर्तामा सहुलियत प्रदान गर्ने नगरपालिकाको आगामी आर्थिक वर्षको नीति रहेको छ ।













