३ दिने महिला उद्यमी सम्मेलन सुरु

स्वर्णिम खबर
३ असार २०८२, मंगलवार १९:२९

३ असार, हेटौँडा । हेटौँडामा ३ दिने महिला उद्यमी सम्मेलन सुरु भएको छ ।
मकवानपुर घरेलु तथा साना उद्योग संघ अन्तर्गतको महिला उद्यमी समितिको आयोजनामा मंगलबार देखि ३ दिने सम्मेलन सुरु भएको हो । घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यबहाक अध्यक्ष सुर्यबहादुर कँडेलको प्रमुख आतिथ्यता एवम् समितिकी अध्यक्ष चन्द्रावती पनेरुको सभाध्यक्षतामा सम्मेलनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्ने क्रममा महिला उद्यमीहरुले उत्पादित वस्तुको बजारीकरण मुख्य चुनौतीको रुपमा देखापरेको बताएका छन् । महिलाहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण हुन नसक्दा स्थानीय उपजहरु टेबलमा मात्र प्रदर्शन गरेर राख्नुपरेको उनीहरुले बताएका छन् । समितिकी अध्यक्ष पनेरुले राज्यको अपारदर्शी कानुनको कारण महिला उद्यमीहरुले व्यवसाय नै सञ्चालन गर्न नसकेको बताउनुभयो ।
घरेलु उद्योगहरुले समयानुसार प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नुपर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । खुल्ला सिमानाको कारण कच्चापदार्थ आयात गरेको देशसंग नै आफुहरुले प्रतिस्पर्धा गर्नुपरेको अध्यक्ष पनेरुको धारणा छ ।
महासंघका केन्द्रिय कार्यबहाक अध्यक्ष कँडेलले आर्थिक उपार्जनको क्षेत्रमा महिलाहरु लाग्नुपर्ने बताउनुभयो । राज्यको नीतिको कारण महिला समाजमा हेपिएर बस्नुपरेको उहाँको भनाई छ । उत्पादित वस्तुहरुलाई मेला महोत्सवमा प्रर्दशनमा राखेर मात्र आर्थिक उपार्जन नहुने उहाँले बताउनुभयो । मुलुकको शासनसत्तामा बसेकाहरुले उद्यमीद्वारा उत्पादित वस्तुहरुको बजारीकरणको जिम्मा लिनुपर्ने कार्यबहाक अध्यक्ष कँडेलले बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको प्रायोजनमा भएको सम्मेलन असार ५ गतेसम्म चल्नेछ । सम्मेलनमा महिला उद्यमीहरुले स्थानीय उत्पादनको स्टल समेत राखेका छन् । उद्घाटन कार्यक्रममा महासंघका बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाई, महासचिव शनिस लगेजु, संघका मकवानपुर अध्यक्ष कुमार पौडेल सहित अन्य जिल्लाका अध्यक्ष एवम् प्रतिनिधि, उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रतिनिधि शकुन्तला पराजुली, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, टोल विकास संस्था नगर समन्वय समिति मकवानपुरका अध्यक्ष धुव्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*