लागुऔषध, इटालियन पेस्तोल र गोलीसहित एकजना पक्राउ

स्वर्णिम खबर
२ असार २०८२, सोमबार १७:१७

२ असार, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध, इटालियन पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तान रहेका छन् । स्याङ्तानलाई उनकै घरबाट गत जेठ ३१ गते लागुऔषध तथा हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो । लागुऔषध बरामदका लागि राक्सीराङ पुगेको प्रहरी टोलीले अवैध लागुऔषध अफिम र गाजाँ सहित ३ थान पेस्तोल, दुईवटा म्यागजिन र त्यसमा लाग्ने ३० राउण्ड गोली बरामद गरी अपराधिक पृष्ठभुमीका ५० वर्षिय स्याङ्तानलाई पक्राउ गरेको हो ।
अबैद्य लागुऔषध रहेको सूचनाको आधारमा १० जना प्रहरी उनको घर पुगेको थियो । प्रहरीले स्याङ्तानको सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा दुई थान पेस्तोल र १८ राउण्ड गोली बरामद गरेको हो । यस्तै स्याङतानकै घर नजिक चन्द्रलाल मोक्तानको बारीमा रहेको रुखको फेदमा सेतो बोराको झोलामा बेरिएको अवस्थामा घरेलु कटुवा पेस्तोल एक थान, पाँच राउन्ड गोली सहित दुई वटा पोकामा एक किलो ४ सय ८० ग्राम अफिम र २२ किलो ८ सय ग्राम गाँजा समेत प्रहरीले बरामद गरेको छ ।
लागुऔषध सहित स्याङ्तानलाई नियन्त्रणमा लिनेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले १० राउण्ड हबाई फायर गरेको प्रहरी उपरिक्षक खड्काले बताउनुभयो । प्रहरी उपरिक्षक खड्काको नेतृत्वमा थप ४० जनाको प्रहरी टोली गाउँ पुगेर पक्राउ परेका स्याङ्तान सहित बरामद हतियार र लागुऔषध प्रहरी कार्यालयसम्म ल्याईएको हो । प्रहरीका अनुसार स्याङ्तानले २०७१ सालमा लागूऔषध मुद्दामा दुईवर्ष कैद सजाय भोगिसकेका थिए ।
उनी २०७६ साउन ४ गते पुनः लागूऔषध तथा हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय काटेर २०८१ माघ महिनामा जेलमुक्त भएका थिए । स्याङतानविरुद्ध प्रहरीले जिल्ला अदालत मकवानपुरबाट लागुऔषध तथा हातहतियार खरखजाना समेतको कसुरमा सात दिन म्याद थप लिई अनुसन्धान गरिरहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*