हेटौंडाको मुख्य बजारमा झोला तान्नेलाई तुरुन्त कारवाही गर्न प्रदेश प्रहरी प्रमुखको निर्देशन
२६ जेठ, हेटौँडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सोमबार हेटौंडा ११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले अपराधको रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी जनताले सुरक्षाको अनुभुति गर्ने गरी प्रहरीले काम गरिरहेको बताउनुभयो । समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण, भिआइपी, भिभिआइपीहरुको सुरक्षाको प्रबन्ध, विपद् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राख्ने गरेको उहाँको भनाई छ । प्रहरी प्रमुख पौडेलले अपराधको अनुसन्धान गर्नुभन्दा अपराध नै हुन नदिन प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा जिल्लाका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रम भइरहेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख पौडेलले समाजमा विभिन्न बहानामा हुने गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरी निर्मम भएर लाग्ने समेत बताउनुभयो । अपराधको नियन्त्रण र न्युनिकरणको लागि प्रदेश प्रहरीले आफ्नै सक्रियतामा र मातहातका कार्यालयहरुको सहकार्यमा समाजमा जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको रहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख पौडेलले ट्राफिक दुर्घटना न्युनिकरणलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । हरेक जनताको गुनासोलाई सम्बोधन गर्ने गरी प्रहरीले काम गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । शहरी क्षेत्रमा घटना घटेको १० मिनेटमित्र पुग्न समेत उहाँले मातहातका निकायलाई निर्देशन दिनुभयो । प्रहरी प्रमुख पौडेलले हेटौंडाको मुख्य बजारमा झोला तान्ने, यात्रुलाई दुःख दिने व्यक्तिलाई तुरुन्त कारवाही गर्न समेत प्रहरी कार्यालय र ट्राफिक कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालयका प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लाका तीन सय ५० प्रहरी इकाइ रहेका छन् । साथै १२ वटा लोकमार्ग प्रदेश प्रहरी कार्यालयको सुरक्षा जिम्मेवारीमा रहेका छन् ।













