त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न सक्दैनः नगर प्रमुख लामा
२४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना एवम् हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार भएको सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै नगर प्रमुख लामाले पछिल्लो समयमा समाजमा मानवता हराउँदै गएको बताउनुभयो । नेताहरुको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकार भएको उहाँको भनाई छ । नगर प्रमुख लामाले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक हुँदा अहिलेको व्यवस्था र संविधान दुबै असफल हुने उल्लेख गर्नुभयो । समाजलाई सुसुचित गरेर नेतृत्वमा बसेकाहरुलाई जवाफदेहिता बनाउने गरी सञ्चारकर्मीहरुले आफ्नो कलम चलाउनुपर्ने समेत उहाँले जोड दिनुभयो । हिनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न नसक्ने उहाँको भनाई छ ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यमाथि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । श्रमजीवि पत्रकार ऐनको कुनै पनि दफा सरकारले अहिले कार्यान्वयन नगरेको उहाँको भनाई छ । महासचिव दाहालले प्रविधिको तीव्रतर विकासले पेशामा चुनौती थपेको बताउनुभयो । सञ्चारकर्मीहरुले पत्रकार आचारसंहिता र मुल्य मान्यतालाई ख्याल गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । महासचिव दाहालले तीन वटै तहको सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास हुन थालेको समेत उल्लेख गर्नुभयो ।
त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत रुमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षहरू विषयमा प्रस्तुतिकरण राख्नुभएको थियो भने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु, विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।













