मुख्यमन्त्रीको आग्रहः ‘हेटौँडा सिमेन्टको स्वामित्व दिनुुस्, नाफामा लैजाने जिम्मा हाम्रो’
३० वैशाख , हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौंडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्वको प्रदेशले पाए नाफामा लैजाने बताउनुभएको छ ।
मंगलबार हेटौंडामा भएको मुख्यमन्त्रीसंग युवा संवाद कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले आफुले केही समयअघि संघीय सरकारसंग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग गरिएको तर केन्द्रिकृत मानसिकता हाबी हुँदा संघ सरकारले स्वामित्व दिन नमानेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले पुँजीको अभावमा उद्योग रुग्ण अवस्थामा पुगेको समेत जिकिर गर्नुभयो । स्थानीय स्तरमै उपलब्ध जनशक्ति प्रयोग गरेर उद्योगलाई नाफामा लैजान सक्ने क्षमता प्रदेशसंग भएको उहाँले दाबी गर्नुभयो ।
‘ हेटौंडा सिमेन्ट मलाई दिनुस्, दुई वर्षभित्र नाफा कमाएर देखाई दिन्छु, हामी पनि प्रयोग गर्छौँ भनेको तर दिनै चाहन । ’ उहाँले भन्नुभयो ‘प्रत्येक वर्ष नाफा नै नाफा हुने गरी सञ्चालन गर्ने ग्यारेन्टी दिन्छौँ । ’
मुख्यमन्त्री लामाले स्थानीय स्तरकै उत्पादन प्रयोग गर्ने नीति ल्याएर कपडा उद्योगलाई पनि नयाँ ढंगले सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री लामाले युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार लागि रहेको बताउनुभयो । विज्ञान र प्रविधिसंग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
सरकारले युवाको क्षेत्रमा ल्याएको कार्यक्रमहरु बारे युवा पुस्ताले जानकारी राख्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । मुख्यमन्त्री लामाले तालिम लिएकाहरुलाई उद्यमशील बनाउन प्रदेश सरकारले बीउ पुँजीको समेत व्यवस्था गरेको बताउनुभयो ।
त्यसैगरी मुख्यमन्त्री लामाले युवा लक्षित कतिपय कार्यक्रमहरु बजेटको अभाव अघि बढ्न नसकेको बताउनुभयो । कार्यक्रमको कार्यान्वयन पक्षलाई सबलीकरण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री लामाले प्रदेशको आम्दानीको स्रोत पनि थोरै भएको युवा क्षेत्रमा चाहे जति कार्यक्रम ल्याउन नसकेको समेत स्वीकार गर्नुभयो । मुख्यमन्त्री लामाले विकास एक्कै चोटी नहुने भएकोले धैयर्ता गर्न पनि आग्रह गर्नुभयो ।
मुख्यमन्त्री लामाले युवा पुस्तालाई कसैप्रति पनि नकारात्मक धारणा नराख्न सुझाव दिनुभयो । युवा पुस्ताले आफ्नो जोश र जाँगरलाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । अग्रज सञ्चारकर्मी रुपेश श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा युवाहरुले प्रदेश सरकारको नीति, कार्यक्रम, बजेट लगायत विविधि विषयमा प्रश्न गरेका थिए ।












