भाषामा सबैको अपनत्व हुनुपर्छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२४ बैशाख २०८२, बुधबार १७:४०

२४ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस–२०८२ मनाएको छ ।
नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको दिन बैशाख २४ गते बुधबार प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो । संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवाः दबूको सहकार्यमा हेटौँडा ४ हुप्राचौरबाट प्रभातफेरी निकालिएको थियो ।
सांस्कृतिक झाँकी सहित निस्किएको प्रभातफेरीले हेटौंडा बजार परिक्रम गरी रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले भाषामा सबैको अपनत्व हुनुपर्ने बताउनुभयो । भाषिक कारण हुने द्विविधालाई प्रदेश सरकारले केही हदसम्म निराकरण गरेको उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले संविधानले प्रदत्त गरेको अधिकार अनुरुप नै नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिएको जिकिर गर्नुभयो । सरकारी कामकाजको भाषा सम्बन्धी ऐनको नियमावाली बनाउने प्रक्रिया समेत अगाडि बढिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले संस्कृति, भाषा, पहिचान प्रदेश सरकारको सम्पत्ती भएकोले त्यसको संरक्षण र प्रवद्र्धनमा सरकार गम्भीर भएको समेत उल्लेख गर्नुभयो ।


त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउने बागमती प्रदेश पहिलो भएको समेत बताउनुभयो । मन्त्री ठकुरीले प्रदेशमा बोलिने सम्पूर्ण भाषाको संरक्षण, प्रवद्र्धन तथा विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।
प्रदेश सभामा नेपाल भाषा र तामाङ भाषाका अनुवादक समेत नियुक्त गरिसकिएको उहाँले जानकारी दिनुभयो । मन्त्री ठकुरीले प्रदेश सरकारको गतिविधि, मौलिक लेख रचना समेटेर त्रैमासिक रुपमा तामाङ र नेपाल भाषामा बुलेटिन प्रकाशन, प्रशारण गर्दै आइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा भाषा संरक्षणमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै, कार्यक्रमको आकर्षणका रूपमा तामाङ र नेवार समुदायका झाँकी, परम्परागत बाजा र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । भाषा दिवसको अवसरमा प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*