थप अध्ययन गर्ने वातावरण नबनेको भन्दै भुगर्भविद्को टोली फर्कियो

स्वर्णिम खबर
२४ बैशाख २०८२, बुधबार १७:३५

२४ वैशाख, हेटौँडा । हेटौँडा– १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा जमिनमुनि भासिएको गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागबाट अध्ययनको लागि आएको टोली प्रारम्भिक अध्ययनपछि बुधबार दिउँसो फर्किएको छ ।
मंगलबार बिहानबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा रहेको टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो ।
भूगर्वविद अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुनाको ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिनुभयो । गाडी डुबेको स्थानमा ठूलो मात्रामा जमिन भासिएको अनुमान गरिए पनि त्यसको वास्तविक कारण र गाडीको अवस्थाबारे अझै प्रस्ट जानकारी पाउन नसकिएको उहाँको भनाई छ । उहाँको अनुसार यस्तो अवस्थामा जमिन कम्पन वा धक्काको कारणले तरल जस्तो बन्ने हुँदा जमिनको सतहले भार सहन नसकी तौल धेरै भएका वस्तुहरू भासिने गर्दछन् ।
मंगलबार टोलीले गाडी भासिएको स्थानमा ड्रिलिङ गर्दा दुई स्थानमा ड्रिलिङ रड ६ मिटरभन्दा तल नगएपछि उक्त स्थानमा गाडी भएको हुनसक्ने अनुमान गरेको थियो । टोलीका एक सदस्य भूगर्भविद कृष्ण पाण्डेले म्याग्नेटो मिटरको सहयोगबाट गाडी रहेको संभावित स्थानको बारेमा पत्ता लगाएपछि गरिएको ड्रिलिङबाट उक्त स्थानमा भासिएको भनिएको गाडीको संकेत मिले पनि थप अध्ययन गर्ने वातावरण नबन्दा व्याक हुनुपरेको स्पष्ट पार्नुभयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहामनगरपालिकाले वरपर ५० मिटर क्षेत्रलाई सिल गर्नुका साथै सावधानी अपनाउन आग्रह गरेको छ । गतशुक्रबार साँझदेखि ना४ च ४८३३ नम्बरको डिआई पिकअप गाडी गाडी कच्चि सडकमा गुड्दा गुड्दै माटो भासिएर हराएको थियो । चालक र सहचालक भने समयमै गाडीबाट निस्किन सफल भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*