गाडी भासिएर घटनाको विषयमा भूगर्भविद्ले काम थाल्यो
२३ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ ।
मंगलबार बिहान हेटौँडा आइपुगेको टोलीले काम थालेको हो । टोलीले घटनास्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रबारे अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागबाट चारजनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । विभागका भूगर्भविद नारायण अधिकारीले घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताउनुभयो ।
घटनास्थलको सतहमुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उहाँले बताउनुभयो । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उहाँको भनाइ छ । म्याग्नेटो मिटरको आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था पत्ता लगाउने (डिटेक्ट) भूगर्भविद अधिकारीले बताउनुभयो ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सिमानानजिकै गैरीगाउँमा भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो । ना.४च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिन नै भासिएर जमिनमुनि बेपत्ता भएको थियो । लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।













