‘पत्रकार महासंघको आन्दोलन कमजोर बन्दै गयो’

५ वैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकार सुरेश रजक हत्या प्रकरणका विषयमा सम्पादक तथा प्रकाशकसँग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर बमोजिम जिल्ला शाखाले सम्पादक तथा प्रकाशकसंग छलफल गरेको हो । दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघद्वारा घोषित कार्यक्रम अनुसार जिल्ला शाखाले पत्रकार सुरेश रजकको हत्या प्रकरण र पछिल्लो समय पत्रकारिता माथि भइरहेका आक्रमणका विषयमा शुक्रबार हेटौंडामा सञ्चारकर्मी, सम्पादक, प्रकाशकसँग गम्भीर रुपमा छलफल गरेको हो ।
पत्रकार महासंघको सभाहलमा भएको छलफलमा सहभागीहरुले आन्दोलन कमजोर भएको बताएका थिए । एउटा बन्द कोठाभित्र गरिने आन्दोलनबाट न्याय नपाउने सहभागीहरुको धारणा थियो । आन्दोलनलाई थप सशक्त बनाउँदै सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले हालसम्मका आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै आन्दोलनलाई निचोडमा पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । विगतमा महासंघको कार्यसमिति बैठकले नै देशमा गणतन्त्र चाहिन्छ भनेर माग गरेकै कारण अहिले राजावादीहरुले सञ्चारकर्मी माथि आक्रमण गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईले घटनाको दोषीहरुलाई कारवाही गर्न सरकारले तदारुकता नदेखाएको बताउनुभयो ।
यसैगरी समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक एवम् स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठले सुरेश रजकमाथिको हत्या मात्र नभइ पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएको घटना क्रममा समेत गम्भीर बहसको जरुरी रहेको बताउनुभयो ।
छलफल कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सुरेश रजकको हत्या विषयमा राज्यले गम्भिर भएर निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले पत्रकारले सन्तुलित र तथ्यमा आधारित भएर समाचार लेख्नुपर्नेमा जोड दिँदै महासंघले पत्रकारका समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आएको दाबी गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष गोविन्द न्यौपाने, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष शिव चौलागाई लगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकको उपस्थिति रहेको थियो ।