सरकारको नीति, कार्यक्रम र बजेट दलित महिला लक्षित छैनः फेडो मकवानपुर
११ चैत्र, हेटौँडा । सरकारको नीति, कार्यक्रम र बजेट दलित महिला लक्षित नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
दलित महिला संघ(फेडो) मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको सामाजिक समावेशीकरण दलित महिलाको अवस्था र सरोकारवालाहरुको भुमिका विषयक बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले गुनासो गरेका हुन् । सरकारले दलित महिलाहरुको लागि छुट्याएको बजेट पहुँचको आधारमा दलित पुरुषमा पुग्ने गरेको उनीहरुको बुझाई छ ।
तीन वटै तहको सरकारले दलितको क्षेत्रमा न्युन बजेट विनियोजन गर्ने गरेको उनीहरुको भनाई छ । राज्यका महत्वपूर्ण निकायहरुमा अर्थपूर्ण नेतृत्वको लागि अभियान नै सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् । अन्य समुदायको तुलनामा दलित महिलाहरुको शिक्षामा कम पहुँच भएकोले आर्थिक रुपमा सबल हुन नसकेको उनीहरुले बताएका छन् । दलित महिलाहरुले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत समस्या पर्ने गरेको उनीहरुको गुनासो छ । आर्थिक रुपमा नै दलित समुदायलाई सबल बनाउन सरकारले लगानीमा बृद्धि गर्नुपर्ने उनीहरुको धारणा छ ।
दलहरुको राजनीतिक कुचक्रमा दलित, अल्पसंख्यक, पिछडिएका वर्गहरु पर्न नहुने उनीहरुको भनाई छ । दलित महिलाहरुको राजनीतिक पहुँच सुनिश्चित्त गर्ने नीति पनि सरकारले अख्तियारी गर्नुपर्ने उनीहरुको माग छ ।समाजमा दलितहरु अन्य समुदायसंग प्रतिस्पर्धा गर्न तयार भए पनि उचित वातावरण अझै निर्माण हुन नसकेको उनीहरुले उल्लेख गरेका छन् ।
अब बन्ने सरकारको नीति, कार्यक्रम र बजेटमा लैंगिक र सामाजिक रुपमै विशेष सम्बोधन हुने नीति ल्याउनुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा नेपालभर हिंसापीडित दलित महिलाको कुल संख्या ११ दशमलब ५४ प्रतिशत रहेको समेत जानकारी गराइएको छ । फेडो मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।













